Avilable:- B,n. Pustak Sansar                  Sajha Pustak Vandar Antarmanko ChitraAuthor Name: Bishnunanda Chamling Price: HK$ 20.00

कुटन्ते शिक्षा र कमल गुरुको हरबर.....

मन खै के के भन्छ आज एक तमासले सताइरहेको छ मलाई। खोटाङ्ग,इन्द्रेणीपोखरी–३ काभ्रेटार,पूर्ब दक्षिण फर्केको गाउँ,पश्चिम दिशा मोहडा परेको म जन्मेको घर भत्किसक्यो भन्ने सुने। मेरो खेतबारी सबै गौचरण भयो अरे,गौचरण फटाहाहरुले खोरिया फाँड्यो अरे। जान्ने सुन्ने त्यही फटाहाहरु नै भए भन्छन्। हिजो मात्र एकजना गाउँले काकाले गाउँघरतिरको खबर सुनाउँदै भन्नुभयो “तिम्रो घर त ढलेछ! अनि मतान पनि भत्के छ,कहीले फुर्सद हुन्छ ? फोटो हेर्नु आऊ है मेरो घरतिर। तिम्रो भत्केको घरको,हाम्रो गाउँको अनि हामी पढेको राष्टिय प्राथमिक बिद्यालयको फोटो खिचेर ल्याको छु ।”

मलाई एकतमासले मेरा भुतहरुले फनफनी घुमाउँन थाल्यो बर्तमानमा आएर। हिजो जस्तो लाग्छ मैले गाउँ घर छोडेको,२२ वर्ष पत्तै नपाइ बितिसके छ। जुन ठाउँको धर्तीमा मैले पहिलो पाइला टेकेको थिएँ,जुन ठाउँको प्रकृतिले मेरा बाल्यबस्था साथै यौवनहरु हुर्कायो। समयको बहावसँगै आज म त्यो ठाउँ देखि धेरै टाढा आईपुगेँ। कर्म गर्दै भाग्यको खोजिमा सात समुन्द्र पारि छु । यतिका वर्ष बिति सक्दा म चाहेर पनि फर्केर गाउँ जान सकिरहेको छुइन। समय र बाद्यता साह्रै बलियो हुन्छ भनेको सुनेको थिएँ आफैँले भोगेर थाहा पाएँ हो यो सत्य रहेछ। सायद गाउँघरले मलाई बिर्सिसके होलान् तर मैले सम्झिरहेको छु। त्यो गोरेटाहरु,गल्लि,बनजङ्गल,डाँडापाखा,भीरपाखा,ठाँटीचौतारी र खोलाखोल्सीहरु मेरो आँखा अगाडि झलझली आई रहन्छन् हरपल ।

मलाई गाउँको राष्ट्रिय प्राथमिक बिद्यालयमा छँदाको क्षण अविश्मरणिय लाग्छ। यो आज भन्दा झण्डै ३०–३१ साल अगाडिको कुरा हो। म सानैदेखि स्कूल जान खुबै रुचाउँथेँ। त्यसैले म ४ वर्षकै उमेरमा पहिलो पटक बिद्यालय प्रवेश गरेको थिएँ। स्कूलमा रहँदा छिनछिनमा आमाको साह्रै याद आउँने गथ्र्यो। किन कि म ठूलो हउञ्जेल आमाको दूध खाने गर्थेँ। नयाँनयाँ अनुहारका थुप्रै साथीभाइहरुको बीचमा आफूले पनि शिशाकलम र कापी च्याप्न पाउँदा,आफूलाई ठूलै मन्छे ठान्दै आमालाई र मीठो दूधलाई पनि भूल्न पुग्थेँ। नायाँ साथीहरु भेटेर रमाइलो त लागेको थियो तर केही साथीहरु भने अलिक छुच्चो स्वभावका थिए। उनीहरुले नयाँ आउँने केटाकेटीहरुलाई जिस्काउँने चिमोट्ने गर्थे ।

स्कूल जान थालेको ४–५ दिन मात्र भएको थियो होला। गणेश फयल नाम गरेको मास्टरले कालो पाटीमा क...देखि ज्ञ... सम्मको ३६ वर्ण लेखेर मलाई सोधे। खासै मलाई पढ्न गाह्रो थिएन। किन कि मेरो मामा र दाजु त्यस समय उच्च बिद्यालयमा अध्यायन गरिरहनु भएको थियो। उहाँहरु बेलुकी पढ्न बस्दा आमाले बजारबाट किनेर ल्याइ दिनु भएको “ठूलो वर्णमाला” भन्ने किताब मलाई पढाउँनु हुँन्थ्यो। त्यसैले स्कूल जान अगावै मैले क ख र केही गन्तिहरु पढन र लेख्न समेत जन्ने भई सकेको थिएँ। त्यो मास्टरको आदेश अनुसार मैले कालो पाटीको क ख उच्चारण गर्दै गएँ। तर अन्य तिर “क्ष” चिन्न नसकेर अड्किन पुगे। किन कि मैले ठूलो वर्णमालामा पढेको अथवा चिनेको अक्षर गाँठोपारी क्ष थियो भने उसले ८लाई कान्धानी दिए जस्तो क्ष लेखेको थियो । पछि थाहा भयो ज्ञ र क्ष दुई तरिकाले लेख्न सकिने रहेछ। तर दुःखको कुरो "क्ष”अक्षर नचिन्दा त्यो मास्टरले मेरो मसिनो छोटोछोटो औँला मासुले भुक्क परेको कलिलो हातमा हरियो बाँसको सिर्कनाले हिर्कायो ।

नजान्नु कसैको गल्ती हैन। नजानेको कुरा सिकुन भनेर त बच्चाहरु स्कूल पठाइन्छ नि। यसरी म दुःखी र त्रसित हुँदै हातको त्यो सिर्कनाको डाम र आँशुका बलिद्र धारा बगाउँदै घर फर्किएको थिएँ। घरमा आएर पापा आमालाई त्यो सुम्लो देखाउँदै झन भक्कानो छाडेर रोयको थिएँ। आमाले मलाई आफ्नो छातीमा टाँसेर मेरो हात सुम्सुम्याउँदै तेसको भोली म ठीक पार्छु भन्दै मुखमा दूध कोचरीदिनु भयो। आमाले दिनु भएको शान्त्वनासँगै दिनभरिको प्यास मेटाउँन दूध खाँदै हिक्कहिक्क गरिरहेको थिएँ। तर मेरो पापा आमा अति सिधासाधा भएको हुँदा त्यो मास्टरलाई कुनै सोधबुझ भएन। मेरो उजुरी त्यतिकै सेलायो कुनै सुन्वाइ भएन। रात बित्यो,बिहानी भयो स्कूल जाने बेला भयो तर म अघिल्लो दिनको कुटाइ सम्झेर स्कूल जान मानिन। अहिले पनि सम्झन्छु त्यो दिन र साह्रै दुःख लाग्छ। मैले जस्तै कति निर्दाेष बलबालिकाले भोगी रहेका होलान् मैले जस्तै पीडाहरु। जुन कारणले कति बालबालिकाहरुको भविश्य शिक्षाको ज्योतीबाट बञ्चित भएका पनि होलान्। बालमनोबिज्ञान सम्बन्धी ज्ञान नभएका र शिक्षक तालिमसम्म पनि नगरेका शिक्षकद्धारा पढाइँदा बालबालीकाहरुले कस्ता शिक्षा पउँछन्? जो जागिर खानको निम्ति मात्र शिक्षक बन्छन् भने उसँग शिक्षकमा हुनु पर्ने गुण हुँदैन। त्यस दिनदेखि मेरो स्कुल फेरि गोठालामा परिणत भयो ।

दुईवर्ष जतिको गोठालो जीवन बित्यो। फेरि स्कुल जानलाई मेरो घर मूनीको साइनोले काका पर्नु हुन्छ,बिष्णु काका र खड्ग बहादुर काकाले फकाउँनु भयो तर मानिन। अलिक पछि फेरि घरमाथिकी दिदी पर्नेले फकाउँनु भयो,मास्टरलाई म कुट्न दिन्न भनेर। नजिकैकी दिदी भएर होला मैले दिदीलाई बिश्वास गरेँ। हल्का डर बोकेर दिदीकोसाथ लागेर पुनः स्कूल प्रवेश गरेँ। साह्रै हर्षित भएको थिएँ । किन कि मलाई कुट्ने त्यो मास्टर सरुवा भई सकेको रहेछ ।

त्यतिबेला शिक्षक श्री प्रसाद भट्टराई प्र.अ.र भुपराज राई हुनुहुन्थ्यो। फेरि नयाँ साथीहरुसित मेरो स्कूले जीवन शुरु भयो । समय बितेको पत्तै नपाइ कक्षा एक पारगरेर कक्षा दुईमा प्रवेश भएको थिएँ। एक दिनको कुरा हो,मौसम थियो। साथीहरुसँग दिउँसो खेल्ने छुट्टीमा खोलामा पौडी खेल्ने सल्लाहा भयो। बिनोद अलिक आँटी स्वभावको थियो र ऊ केही गर्ने भने पछि गरिछाड्ने। खोलामा गएर पौडी खेल्ने सबैले सहमति जानायौ र हामी खोला तर्फ हानियौँ। जाँदा ओह्रलो भएकोले चाँडै पुगेर धित मरुञ्जेल खेलियो । फर्कनलाई भने निकै मुस्किल थियो किन कि पौडि खेलेर थाकेको जिउ फेरि उकालो बाटो । भिजेको शरीर सुकाउँनको लागि घामले रन्केको तातो चप्लेटी ढुङ्गामा उत्तानो घोप्टो कोल्टो गर्दै टाँसिनु पथ्र्यो। हमी पनि त्यसरी नै चिसो लूगा र जिउ सुकाइ सकेर स्कूल फर्कने तयारीमा थियौँ। अचानक छिमेकी राम दाइले माछा मार्दैगरेको देखियो। त्यो माछा हेरेर दिलीप,प्रेम,राजन,बिनोद र म उतै भूले छौँ, समय बितेको पत्तै भएन ।

साँझ परिसके थियो। भुक्के चप्पल हातमा सिउरेर ढुङ्गा काँढा नभनी उकालो दोडियौँ। दुःखको कुरो स्कुल बन्द भई सकेको थियो। हाम्रो किताबहरु शिक्षक कार्यलयमा लगेर थुनिएको रहेछ। मुटुले ढ्याङ्ग्रो ठोक्यो,दुःखी हुँदै घर जान शिवाय अरु केही उपाय थिएन। चारै जना आ–आफ्नो घरतिर लाग्यौँ,घरमा पापा आमाले थाहा पाउँनु होला भन्ने अर्को डर फेरि । भगवानको कृपाले पापा आमालाई त्यो कुरा थाहा भएनछ र आजसम्म पनि सुनाएको छुइन। रातभरि छटपटी लाग्यो कति निदाउँने कोशिश गरेँ तर सकिन। घरि सिरक भित्र गुटुमुटु घरि उठेर बस्दै छिन्छिन्मा पिसाब आए जस्तो पनि हुँने,अति कष्टसँग जागै रात बित्यो। पाकेको गोलभेडा जस्तो आँखा लिएर बिहानीको उषालाई स्वागत गरेँ। बिहानको घरधन्दा कामकाज सकेर हातमुख जोडे पछि स्कूल जा..जा...भन्दै पापाको बुडो टेबुलघडी खोपीमा छक्लक छक्लक गर्दै थियो।

म दोधारमा परेको थिएँ त्यसबेला,स्कूल जाउँ कि नजाउँ? डरको भारि झन गह्रौँ हुँदै जान्छ,बोकेर डरको भारी म बिना किताब कापी स्कूल तर्फ लागेँ। प्रर्थनाको लागि लस्करमा लुकेर पछाडि उभिएको थिएँ। तर म त्यो परिस्थितीबाट भाग्ने कुनै बाटो पनि थिएन। मलाई प्रर्थना शुरु गर्नको लागि अगाडि आउँनु भनि बोलाइयो। मनभरि त्रास बोकेर साथीहरुको अगाडि अँधेरो आनुहार देखाउँदै शाहाहरुको गुणगान गरेँ। त्यो गुणगान सकेर सबै भित्र गए तर म लगाएत दिलिप,प्रेम,राजन र बिनोदलाई बाहिर राखियो। अनि शिक्षक भुपराज राईद्धारा अघिल्लो दिनको बारे सोधबुझ हुँन थाल्यो। हामीले गल्ती स्वीकार्यौँ,तर सजाय भोग्नु पर्ने नै भयो। हामीलाई निधार र खुट्टाको बुढी औँलाले भूइँमा टेकेर जीउलाई ओदान जस्तो घोप्टो गरेर धान्नु पर्ने भयो। केही बेर त्यसैगरि अडेका थियौँ तर "राजन" त्यसो गर्न इन्कार गर्दै घरतिर लागे। सायद तेही रोष हुँन सक्छ हामी माथि खनियो र बाँसको सिर्कना हाम्रो ढाडमाथि बर्साइयो। त्यो सिर्कनाको सुम्लो अझै मेरो ढाडमा छ जस्तै लाग्छ। किन कि मैले बेलुकी घर गएर ऐनामा हेरेको थिएँ त्यो डामहरु अझै झलझली याद आउँछ ।

समय बित्दै गयो शिक्षक भुपराज दाइ उच्च शिक्षा हाँसिलको निम्ति काठमाण्डौ तिर लाग्नु भए छ। प्र.अ.श्री प्रसाद भट्टराई मात्र हुनु हुन्थ्यो शिक्षक त्यसैले हामीलाई कक्ष १ देखि ३ सम्म पालैपालो पढाउँनु हुन्थ्यो । उहाँ पनि एकजना राम्रो शिक्षक हुनु हुन्थ्यो । तर वहाँको एउटा बाँनी साह्रै नराम्रो थियो,त्यो के भने खोटाङ्ग बजार गएर बिजुले बाँडाको घरमा तास खेल्नु हुन्थ्यो। केही समय बिते पछि भुपराज दाइको साटो अरु कोही नयाँ शिक्षक आउँने हल्ला चल्यो। त्यो हल्लासँगै कस्तो मास्टर आउला भनेर कउतुहल्ता पनि मच्चिदै थियो म भित्र। अगुल्ठाले हानेको कुकुरलाई बिजुली चम्किन्दा तर्सिन्छ भने जस्तै भाको थियो। किन भने हाम्रो पालामा सानो गल्ति गर्यो अथवा सोधिएको प्रश्नको जवाफ दिन नसक्दा कुटाइ खानु पर्ने कुटन्ते शिक्षा थियो। हाम्रो पालामा ९–१० कक्ष बढेकाहरु मस्टर हुन्थे त्यति जानेकाले् रामरी पढाउँन् पनि कसरी?

नभन्दै केही दिनको प्रतिक्षा पछि कमल प्रधान गुरु आउँनु भो। हामीलाई हात हल्लाउँदै हेल्लो भन्नु भयो तर हामी चुपलागेर हेरिहयौँ,अहिले थाहा पाउँदा हामीले पनि हाई भनेर हात हल्लाउँनु पर्ने रहेछ। सफा धारिलो पत्लुङ्ग र कमिज लगाउँनु भाएको,कालो टलक्क टल्केको जुत्ता,कपाल चटक्कै कोरेको गेरो वर्णको हुनुहुन्थ्यो। वहाँ दार्जीलिङ्गको हावापानीमा हुर्केबढेका र पढेका मानिस हुनुहुन्थ्यो। पुख्र्यौली घर भने खोटाङ्ग बजार नै हो । सोँचे भन्दा फरक वहाँ एउटा शिक्षक मात्र नभएर साथीको रुपमा पनि पएको थिएँ। साह्रै मीठो बोलीवचन थियो उहाँको। आएको भोली पल्टदेखि पढाउँन थाल्नु भएको थियो होला। मा.बि.स्तरसम्म पनि कमल गुरुले बहेक अरु कुनै शिक्षकले बिद्यार्थीलाई तिमी भनेर बोलाको सुनिन। मलाई लाग्छ वहाँ एक अति भलाद्मी ब्याक्ति हुनु हुन्थ्यो। “एउटा कमिलो हिँडि रहेको थियो,दुम्सि,लेखर्के र मैना चरी”यस्तै धेरै उहाँले पढाइएका पाठहरु अझै कण्ठष्थ छ ।

हाम्रो पढाइको तरिका पूर्णरुपमा परिवर्र्तन भयो। शुक्रबार स्कुलको कक्षा कोठा लिपपोतकासाथै स्कूल वरिपरि सरसफाइ गर्नु पर्ने, सरसफाइ सकेर नाचगान,हाजिरीजवाफ,खेलकुद जस्ता अतिरिक्त कृयाकलाप हुन थाल्यो। म हाजिरी जवाफ र खेल्कुदमा मात्र भाग लिन्थेँ। नाचमा बिनोद र दिलिप अनि अरु पनि नाच्ने गर्थे र केटीहरु बिमला,सृजना,निर्मला,रमा आदि। कमल प्रधान गुरु साह्रै मीठोसँग गाउँने बजाउँनु हुन्थ्यो,खस्र्याङ्गमा छँदा रेडियो खस्र्याङ्गमा काम गर्नु हुन्थ्यो रे भन्ने सुनिन्थ्यो। पारिवारिक झमेलाको कारण एक छोरा र आमालाई लिएर आफ्नो बाबुको जन्मभूमि खोटाङ्ग बजार आउँनु भाएको रे। अहिले सम्झिँदा ठूलो कलाकार हुनुहुन्थ्यो रहेछ। शुक्रबार स्कूल आउँदा घरबाट हार्मोनियम र मादल बोकेर स्कुलमा ल्याउँनु हुन्थ्यो। हामीलाई गीत गायर सुनाउँनु र नचाउँनको निम्ति। बजाउँदै गाउँदै हामीलाई स्वरमा स्वर खापेर तालि बजाउँदै गाउँन भन्नु हुन्थ्यो। शुक्रबार स्कूल नजिक घर भएका हाम्रा अविभावकहरुले समेत गीत सुन्न मौका पाउँथे ।

हामी तीन कक्षा प्रवेश पछि एकपटक दुई प्रा.बि.बीच शिक्षक तथा बिद्यार्थीहरुको भेटघाट कार्यक्रम हाम्रो स्कूलले राखेको थियो। स्कुलहरु खोटाङ्ग बजारको खोटाङ्ग प्राथमिक बिद्यालय र हाम्रो राष्टिय प्राथमिक बिद्यालय,इन्द्रेणीपोखरी–३ खोटाङ्ग कात्तिके । हाम्रो स्कूलको निमन्त्रणा स्विकार्दै त्यस स्कूलका शिक्षक र बिद्याथीहरु हाम्रो स्कूलमा आएका थिए। भेटघाट कार्यक्रममा हाजिरीजवफ,भाले जुधाइ,टोपी लुकाउँने,रिले दौड साथै नाचगान जस्ता कार्यक्रम राखिएको थियो। कार्यक्रम हाजिरीजवाफ–प्रतियोगीताबाट शुरु भई नाचगानमा टुङ्गिएको थियो। अन्य खेल खेलाईसकेर गोला प्रथाद्धारा छानिदा गायन र नृत्य शुरु हाम्रो स्कुलले गर्नु पर्ने भयो। गुरु कमल प्रधानको सुमधुर स्वरबाट साँगीतिक कार्यक्रमको थालनी भएको थियो। हार्मोनियम,मादल र चाँप (घुँगुरु)मात्र बाजा थियो जस्तो लाग्छ। त्यति बेला मादल चाहिँ हाम्रै अभिभावक कसैले बजाउँनु भएको थियो जस्तो लाग्छ।

हार्मोनियमको सात स्वरमा आफ्नो सुमधुर स्वर थपेर स्वागत गीत शुरु गर्नु भएको थियो कमल गरुले । त्यो गीत यस्तो थियो “हरबर ऽ हरबर ऽ हरबर ऽ हरबर ऽ यो आलाप यति लामो थियो कि सासै नफेरी तेतिका लामो समयसम्म कसरी भन्न सक्या? फेरि तेसै आलापमा जोडेर तोरीको फूल,बजैको घरमा तन्नेरिको हुल”......भन्नु भयो । हरबर ऽ हरबर ऽ यो आलाप भन्दा सबै दर्शकहरु छक्क परेर टवाल्ल हेरिरहेका थिए भने बज्यैको घरमा तन्नेरीको हुल भन्दा सबै एकै स्वरमा गललल.... हाँसेका थिए। यसरी हाँसेर माहोल नै हाँस्य कार्यक्रम जस्तै भएको थियो ।

कार्यक्रम हेर्नको लागि हाम्रा अविभावकहरुलाई पनि निम्तो गरियको थिए। धेरै जसो अभिभावक कार्यक्रममा उपस्थित थिए। तर त्यस कार्यक्रममा मेरो पापा आमा भने दुबैको उपश्थिति नहुँदा म केही दुःखि थिएँ। अरु अविभावकहरु कार्यक्रम हेरेर अति रोमाञ्चित देखिन्थे। त्यस दिन सबैले खनिखोस्रि,कुटोकोदालो,हलोजुवा र हलगोरु बिसाएर आएका थिए। अन्य गीत कस्ता थिए,साथीहरु कुन गीतमा नाचे गीत याद छैन मलाई। हाम्रो स्कूलको तर्फबाट साथीहरु बिनोद र दिलिप अरु पनि थिए होलान् अनि केटी साथीहरुलिे पनि नाचेका थिए। धेरै खेलहरु हाम्रो स्कूलले जितेको थियौँ भने केही खेल र नृत्यमा खोटाङ्ग प्रा.बि.ले नै जितेको थियो जस्तो लाग्छ मलाई ।

त्यही साल गुरु कमल प्रधान र प्र.अ. श्री प्रसाद भट्टराईको नेत्रित्वमा हामीले हाम्रो गाउँ इन्द्रेणी पोखरी वडा नं ३ र ४को सबै घरआगनमा हामीले देउसी भैली खेलेका थियौ। यसरी गाउँभरि देउसी भैलो खेलेर स्कूलको निम्ति केही कोष जम्म भएको थियो। त्यस समय हाम्रा अभिभावकहरु पनि सहयोग दिनको लागि अति उत्सुक थिए। पैसा हुनेले पैसा राखिदिए भने पैसा नहुँनेहरुले धन, कोदो र मकै जस्ता चिजहरु दिएर सहयोग गरेका थिए। त्यो सबै कमल गुरुको हरबरले गरेको कमाल थियो ।

देउसी भैली खेले जस्तैगरि रमाइलोसँग हाम्रो प्रा.बि.स्तरको पढाइ सकियो। एकै दिन पनि कसैलाई नराम्रो बेलीबचन गर्नु भएन र कुट्ने त कुरै छाडौँ। कक्षा ३ को अन्तिम परिक्षा उतिर्ण गरेपछि हामी 'खि' नाम गरेको हाम्रो गाउँको खिखोलो(जुन खोलामा पौडि खलेका थियौँ)तरेर निम्नमाध्यमिक र माध्यमिक शिक्षाको लागि श्री भगवती ब्या.मा.बिद्यालय खोटाङ्ग बजार जानु पर्ने भयो। स्कूल परिवर्तन पस्चयात कमल गुरुसँग भेट्घाट कम हुँदै गयो। पछि सुन्दा स्कूल संचालक समितिको बैठकमा केही कुरा नमिल्दा भनाभन भएको थियो रे। त्यही कुरालाई लिएर सँचालक समितिको सदस्य फटाहाहरु मिली वहाँलाई स्कूलबाट निस्कासन गरेछन्। यसरी अपमान सहन गर्न नसकेर हामी र हाम्रो गाउँलाई छाडेर डार्जिलिङ्गतिरै फर्किनु भयो। जीवनमा धेरै शिक्षक भेटेँ तर कमल प्रधान जस्तो शिक्षक भेटेको छुइँन । जहाँ जसरी रहे पनि सुखी र खुसी हुनुहुन्छ होला भन्ने ठानेको छु ।

०९/१२/२०११
अष्तु :

फेसबूक मार्फत प्रतिकृया...

0 राय सुझाबहरु:-

Leave a Reply

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼

Copyright 2008 BISHNUNANDA CHAMLING All rights reserved Designed by PURWACHHA

Popular Posts