वसन्त र ग्रीष्म ऋतुको बीचको समयले माझकिरातको गाउँघरमा अथवा किरात राईहरुको बस्तीतिर सालै पिछे हर्षोल्लाष र उमङ्ग लिएर आउने गर्छ ।
बनपाखा,खेतबारीका बोटबिरुवाहरुले पालुवा फेरिसकेका हुन्छन्। चराचुरुङ्गीहरुले भाषा फेर्नथालिसकेका हुन्छन् । घर वरिपरीका बारीभरि लहलह मकै उम्रीसकेको हुन्छ । नौ सिङ्गे भाले आगन घुर्यान अनि गाईगोठ र सुँगुरको खोरको धुरीधुरी चढेर पखेटा भ्याट्भ्याट्गर्दै कुकुरी काँ...गरेर बास्दै गरेका हुन्छन्। पोथी भने आफ्नो चल्लाहरुलाई खानेकुरा खेजेर खुवाउँदै हैरान हुन्छे, तै पनि भाले बासेको सुनेर कोरकोर गर्दै,भालेतिर मुन्टो घुमाउँन भने छोडि्दन । बडो चलाखीसाथ रहनु उसको कर्तब्य हुन्छ। किन कि त्यो हरियो मकै बारी भित्रबाट लुकेर स्याल बनबिराला र आकाशबाट बकुलो/बेसाराले आफू र आफ्ना बथानलाई आक्रमण गर्दै त छैन भनेर । पोथीले मात्र होइन भालेले पनि आग्लो ठाउँमा चढेर वरपर हेर्ने गर्छ । यदी केही नौलो देखेमा वा खतराको संकेत पाएमा आफ्नो बथानलाई थाहादिन कोऽऽऽकोक्याऽऽक गर्दै कराउँने गदर्छन् ।
किरातराईहरुको पीत्र अथवा कुलमा सुँगूर र कुखुरालाई चोखो पशु पन्छिको रुपमा लिइन्छ। गाई,भैँसी र सुँगुर पाल्न नसके पनि कुखुरा भने अनिवार्य पालेको पाइन्छ । घरको शोभा बढाउँनको निम्ति पालिएको पनि हुनसक्छ ।
बिशेष गरेर मासुमँसको लागि अनि कार्य पूजा गर्नु परेमा कुखुरा नभई नहुँने भएकोले पनि कुखुरा पाल्ने चलन अनिवार्य चलि आएको हुन सक्छ । अरु याममा धेरै न भए पनि बैसाके पूर्र्णो र मँसिरे पूर्र्णोतिर भने किरात राईहरुलाई कुखुरा निकै चाहिँन्छ । किन भने किरातराईहरुले बैसाके पूर्णीमालाई उभौली र मंसिरे पूर्णीमालाई उँधौली भनी पूजा गर्दै आएको हामी पाउँछौँ ।
भलेले कुखुरी काँ ऽऽऽ बासेर बिहानी प्रहरहरु छुट्उँने गर्दछ त्यसैले भालेलाई समय सुचकको रुपमा पनि मानीलिएको पाइन्छ। किरातराईहरुले परापूर्वकालदेखि समय सुचकको रुपमा मानेर हुँन सक्छ, शिली नृत्यमा पनि भालेको हाउभाउ बडो अर्थपूर्ण र रोमाञ्चित ढङ्गले प्रस्तुत गरिएको पाइन्छ । नाच मात्र नभएर गीत पनि गाउँने गरेको भेटिन्छ गाउँघर तिर ।
जस्तैः
पानी पतैमा काटौँला सिन्ताङ्ग एऽऽऽनि लै ऽऽऽ भाले डाकैमा ..........
यो सिन्ताङ्ग भन्ने ठाउँ खोटाङ्ग जिल्लाको बाराहा पोखरीदेखि माथिको अग्लो डाँडा हो, यो ठाउँबाट तराईतिरको समथर भूभाग र चुरेपर्बतहरु राम्ररी देखिन्छन् । प्रथम प्रहरमा भाले बस्दा सिन्ताङ्ग डाँडा पुगन् सकेमा तराई अथवा शहर झर्नु धरै नभएको कुरा गीतले बोलेको हुन पर्छ ।
किरातहरु प्रकृति पूजक हुन भनेर चिनिएको मात्र नभएर नेपालको एक आदिवासी जाति पनि हो। बैसाक र जेष्टको मध्य समय भनेको बालिनाली लगाउँने समय हो अथवा उभौली भनिन्छ। यतिबेला किरात राईहरु आफ्नो कुलको मूल धमीद्धारा आफ्नो चुल्हा अथवा साकेला थानमा पूजा गरेर अन्नबाली राम्ररी उत्पादन होस, धर्ती उर्वर बनाइ देऊ भनेर प्रकृतिसँग प्रार्थना गर्ने गरिन्छ। यसरी पूजा गरिँदा शिली नाच्नेहरु बिभिन्न हाउभाउ गर्दै शिली नच्नु पर्ने हुन्छ । साथै आफ्नो इष्टदेवसीत सुख, शान्ति र समृद्धिको कामना पनि गरिन्छ ।
बालीनाली पाकीसके पछि फेरि मंसिरे पूर्र्णोमा उधौली पूजा गरि आफ्नो कुल अथवा इष्ट देबलाई पाकेको अन्न बाली देखाएर मात्र आफूहरुले खाने सँस्कार छ। यसरी पूजा गर्दा किरात राईहरुको कुलदेवतालाई कुखुराको बली दिने प्रचलन रहिआएकोछ ।
खेतबारी खन्जोत गर्नु, बली लगाउँनु र गोडमेल आदि कुराहरुले यो समय अतिनै ब्यस्त हुन्छन् गाउँघर तिर । यस्तो ब्यस्त समयमा पनि म भने मेरो सानो ढोल कसरी बज्ने बनाउँने भन्नेमा चिन्तित हुन्थेँ । ढोल केहो भन्नु पर्दा,यो किरातहरुको बिनायो,मुर्चुङ्ग जस्तै मौलिक बाजा हो भन्न म रुचाउँछु । बिनायो र मुर्चुङ्गा जहिले जहाँ पनि बजाउँन सकिन्छ भने, ढोल मूल धामीको बिना अनुमति जथाभावि बजाउँनु भने राम्रो मानिदैन । यदि जथाभावि गरे अनिष्ट हुन्छ भन्ने मान्यता परापूर्वकालदेखि रहिआएको छ ।
म ११/१२ वर्षको हुँदो हूँ,आमासित अनुनय बिनय गरेर माथिल्लो घर रामदाइसँग सार्की गाउँमा प्वाँले होइन भने माले गोरुको छाला खोज्न पुगेको थिएँ। मेरो बाजेले भन्नु हुन्थ्यो,"प्वाँले र माले गोरुको छालाले मोहोरेको ढोल राम्ररी बज्छ"। त्यसैले सार्कीको घरबाट गोरुको छाला छानिछानि ल्याएर हिलोमा केही दिन गाडेर राखेको थिएँ। फेरि अर्को पीर स्यालले त्यो छाला लगीदिने होकि भन्ने । त्यसैले मैले त्यो छालालाई दबदबे हिलोको निकै गहिरो ठाउँमा उचाल्न सक्ने ढुङ्गाले थिचेर राखेको थिएँ ।
केही दिनमा छाला राम्ररी भिजिसके पछि घर ल्याएर ढोलको दुबैतिरको मुख नापेर ठिक्क हुनेगरि छाला काट्नु पर्छ। बाँसको कुँडुलो(गोलो) बनाएर त्यो छालालाई छालाकै सानो ताना काटेर हल्का तन्काउँने अथवा बुन्नु पर्ने हुँन्छ । फेरि छालाकै अलिक चाक्लो र लामो ताना होशियरपूर्वक ठूलोसानो नहुने गरि काटेर ठिक्क परिसके पछि ढोल मोहोर्ने काम शूरु हुन्छ । त्यो तानालाई बडो कलात्मक ढङ्गले ढोलको मुख ढाक्ने छालाको बीटमा बराबरी दूरीमा सानो प्वाल पार्दै छिराउँने गर्नु पर्छ ।
यसरी ढोलको दुबैतिरको भाग ढाके पछि बिस्तारै ताना कस्नुपर्छ। बजाउँदा एकपटी ठूलो र अर्को पटी सानो आवाज बज्नुपर्ने हुन्छ। घाममा सुकाएको ढोल घाम लाग्दा मात्र बज्छ र ओसिलो दिन अथवा साँझ पर्दै गए पछि राम्रो बज्दैन । त्यसै कारणले ढोललाई ठिक्क तन्क्याइ सकेपछि ओतिलो ठाउँमा २/४ दिन राख्नु अति राम्रो हुँन्छ। आलो हुँदा गजाले कसेर हिर्काएर बजाउँनु पनि हुँदैन। यदि यसो गरेमा ढोलको आलो ताना र ताल खुस्केर खकुलो भई राम्रो बज्दैन। यसरी बनाइएको ढोल जतनले चलाए ५/६ वर्षभन्दा ज्यादा टिकाउहुन्छ। छोटकरीमा ढोल बनाउँने केही तरिकाहरु माथि दिएको छु र मैले पनि त्यही पुर्खेउली प्रबिधि प्रयोगगरि मेरो सानो ढोल मोहोरेहो थिएँ ।
मेरो सानो ढोल मोहोरी सकेर पछि रातभरि छटपटी लागेको थियो, कहीले सुक्छ र बजाउँनु,यस्तै यस्तै मनोबाद चलिरहन्थ्यो म भित्र। यसरी ढोल तयार गर्नुको लागि सहयोगी र गुरुको रुपमा मेरो छिमेकी राम दाइ हुनुहुन्थ्यो। रामदाइबाट मैले राम्रा नराम्रा धेरै कुराहरु सिक्ने मौका पाएको थिएँ। किन कि मेरो बाल्यकालदेखि किशोर अबस्थासम्म उहाँसित धेरै उठबस भएको थियो। ढोल बनाउँनु,शिली नाच्नु सिकाउँनुका साथै डोको,घुम,छपनी,महला जस्ता गाउँले जीवनमा प्रयोग गरिने सरसामानहरु बुन्ने तथा बनाउँने सीप समेत मैले वहाँबाट नै सिकेको हुँ ।
बैसाकको पहिलो हप्ता भित्र नै ढोल तयार पार्नु पथ्र्यो र ढोलेहरुको ढोल कस्को राम्रो बज्ने भन्ने खुबै चर्चा हुन्थ्यो। मेरो गाउँदेखि नजिकैको डाँडा गाउँले टिके भतिजको भन्दा राम्रो बज्ने बनाउँनु खोज्थेँ तर ठिकैको मात्र हुन्थ्यो। मेरो ढोल छरितो र ठीकै बज्ने हुँनाले सबैले मनपराउँथे ।
बैसाकेपूर्णे आउँनु अगाडि नै मूलधामीले शिली नाच्नु र ढोल झ्याम्टा बजाउनु फुकुवा गरिदिने चलन थियो र अझै पनि छ गाउँघरमा । साँझ परे पछि केटाकेटी बूढापाका सबैको थकान मेटाउने एउटा माध्यम हुन पुग्छ ढोल झ्याम्टा र शिली नृत्य । गाउँका केटाकेटीहरुले चुला पुज्ने अथवा साकेला पूजा भन्दा अगाडि नै धेरै शिलीहरु सजिलै नच्न सकोस भनेर पनि हुन सक्छ धामीले छुट गरिदिएको ।
घर धन्दा सकेर साँझ परेपछि पालो गरेर एक बेलुकी तल्लो घर अर्कोसाँझ माथिल्लो घर यसरी क्रमस नाच्ने चलन थियो र अहिले पनि त्यो चलन यथावतै होला। गाउँभरिका केटाकेटी बूढापाका भेला भएर सोइसोइला गीतगाउँदै नाच्ने गरिन्थ्यो। ढोल बजाउँदै सिली नाच्नेहरुको गोल भित्र छिरेर साथीहरुसँग सोइसोइला गाउँदै ढोले जुधाइ खेल खेल्थ्यौँ र त्यो मजा कहिले भूल्न नसकिने रहेछ ।
ढोले खेल्दै गायको गीतको बोल यस्तो थियोः
माथि माथि सैलुङ्गेमा
चौँरी गाईको गोठ स्यामुना
चौँरी गाईको गोठ मूनि
नरिवलको बोट स्यामुना
नरिवलको हाँगा लाछि
गुलेलीको मोठ स्यामुना
ढ्याडकु ढ्याडकु सोइदानेउ वासिम दुमा बैदानेउ... शिली नाच्नेहरुले चाहिँ स्याब्ब ढोले स्याब्ब सोइ ढोले सोइ अर्को ढोले खोइ ...भनेर ढोलेहरुलाई झन ढोल बजाउँदै गीत गाउँन प्रोत्साहन गर्थे ।
ढोल बजाउँने तरिका हुन्छ, शिली टिप्ने (नाचको हाउभाउ फेर्ने) बेलामा र केही शिलीमा ढोलको बोल (बजाउँने तरीका) नै फरक हुन्छ । मलाई थाहा भए अनुसार मोछामा शिली नाच्दा, वाप्पा शिली नाच्दा ढोल्को बजाउँने तरिका फरक तरिकाले बजाउँने गरिन्छ गाउँघरतिर । साकेला गीत गाउँदै म र मेरा समकालीन साथीहरुसँग ढोले खेल्ने गर्थेँ । ढोले जुधाई पनि एकप्रकारले साह्रै रमाइलो आकर्ष नृत्य हो । शिली नाच्नेहरुको गोलो घेरा भित्र र घेरा बाहिर हुँदै एकअर्का ढोलेसँग ढोल जुझाउँनु पर्ने भएकोले जोगिएर खेलनु पर्ने हुन्छ । ढोले जुधाई भन्नाले त्यो एक आकार्षा बढाउँनको लागि खेलीने रमाइलो ठट्टा हो । हामीले गाउँघरमा साकेला शिली नाच्दा गाइएको गीत यस्तो थियो ।
हलेसी थानको माहादेब
चारकुनै खोजेँ काहाँ थियौ
सोइसोइला होउ कुर्र हाहा......
पुर्र्णोको पाँच दिन पञ्चमी
नाचेर जाउँन है छमछमी
सोइसोइला होउ कुर्र हाहा .....
ढोल झ्याम्टा बज्यो गजैले
गायि देऊन गीत मजैले
सोइसोइला होउ कुर्र हाहा.......
उँधैलाई कोशी बहन्छ
जिउ मरे सम्झना रहन्छ
सोइसोइला होउ कुर्र हाहा......
रेटनकी धारले रेटौँला
नमरे बाँचे भेटौँला
सोइसोइला होउ कुर्र हाहा......
अहिले सम्झिँदा अचम्म लाग्छ, दिन भरिको कामले थाकेर भुतुक्क हुँदा पनि साँझमा फेरि फुर्ति कसरी आउँथ्यो कुन्नि । पसिना बगुञ्जेल शिली नाचेर बिसाउँने चलन थियो । नाचेर आराम गथ्र्यौ, जुन घरमा नाचेको हो त्यो घरवालाले जाँड/रक्सि के हुन्छ बिसाएको बेला दिने चलन थियो । खाएपछि फेरि एकचहट मज्जाले नाच्ने गरिन्थ्यो । शिली बिसाए भोलि कसको घरमा नाच्ने भन्ने टुङ्गो गरे पछि आ-आफ्नो घरघर गएर सुकला गरिन्थ्यो ।
यसरी चुलापूजा अथवा सकेला पूजासम्ममा त हामी सबैजना ढोल झ्याम्टा बजाउँनु,चौरीको पुछर(पोमी)र सिलिमी हल्लउँदै धेरैवटा शिली नाच्न जानीसकेको हुन्थ्यौँ । सबै नाच्न जान्नेहरुको समूहले शिली नाच्दाखेरि हेर्दा अतिनै आकर्ष देखिन्छ। र नाच्नेहरु पनि खुलेर नाच्न पाउँछन् कोहि अल्झाउने हुँदैन। रमीता हेर्नेहरुले पनि सबैले शिली टिपेको हेरि उनीहरुले आफ्नो मज्जा लिन्छन्। धेरै भयो मैले गाउँ छोडेदेखि खुलेर शिली नाच्नु र ढोल बजाएर ढोले खेल्नपाएको छुइन । मैले बिताएका ती पलहरु र यस संसारमबाट बिदा भईसक्नु भएको आदरणिय दाजु "राम" मेरो स्मृतिको पाना भरिभरि अझै आलै रहेको छु ।
अष्तु:
बिष्णुनन्द चाम्लिङ्ग
इन्द्रेणीपोखरी- ३ कात्तिके काभ्रेटार
खोटाङ्ग(दिक्तेल)सगरमाथा
किरात राज्य
नेपाल