लालीमाको रङ्ग पोख्ने अन्तर्मनको चित्र ।
चोमोलोङमा बास तोक्ने अन्तर्मनको चित्र ।
जिन्दगीको क्यानभासमा जीवनरेखा कोरुँ,
हरियाली पहाड बोक्ने अन्तर्मनको चित्र ।
ढुङ्गाकोभर माटो जस्तै जाती भाषा धर्म,
समनताको तुलो जोख्ने अन्तर्मनको चित्र ।
जुटौँ हामी समाजमा बाधा बन्धन तोड्न,
कुरितीको मार्ग रोक्ने अन्तर्मनको चित्र ।
रचना समय: २५ जनवरी २०१२
"अन्तर्मनको चित्र" गजल संग्रहबाट
चोमोलोङमा बास तोक्ने अन्तर्मनको चित्र ।
जिन्दगीको क्यानभासमा जीवनरेखा कोरुँ,
हरियाली पहाड बोक्ने अन्तर्मनको चित्र ।
ढुङ्गाकोभर माटो जस्तै जाती भाषा धर्म,
समनताको तुलो जोख्ने अन्तर्मनको चित्र ।
जुटौँ हामी समाजमा बाधा बन्धन तोड्न,
कुरितीको मार्ग रोक्ने अन्तर्मनको चित्र ।
रचना समय: २५ जनवरी २०१२
"अन्तर्मनको चित्र" गजल संग्रहबाट
हङ्गकङ्ग आएको पनि यति लामो सपय बितिसक्यो । हङ्गकङ्गक आई डी को लागि १९९५ अक्टुबरको १७ तारिख आएको थिएँ । सपरिवारबाट लामो समयको लागि टाढा भएको पहिलो थियो यो । जसरी हुन्छ, हङ्गकङ्गलाई कर्मभूमिको रुपमा पाउँनु थियो मैले । मनमा धेरै कुराहरु खेल्ने गथ्र्यो । अनि १ डलरलाई ७ ले गुणा गथेँ । मनको क्यालकुलेटरले निकै राम्रो गुणनफल निकाल्ने गथ्र्यो र म दङ्ग पर्थेँ । चार वर्ष काम गरेर स्वदेश फर्कने भन्थ्यो मनले । मनसँग हाँ मा हाँ मिलाउँथेँ मैले पनि ।
मेरो लागि यो नौलो सहर भने थिएन । डिसेम्बर १९८९मा १७ दिन हङ्गकङ्ग बसेको थिएँ । त्यसबखत मेरो दाजु छकुमार राई ब्रिटिश सेनामा कार्यरत हुनुहुन्थ्यो । भेट्न आएँ तर तलिममा ब्यस्त रहेको कारण हाम्रो भेटघाट पातलो नै भयो । राजेन्द्र काका म बसेको ठाउँ चिम शा चुइबाट नजिक गन क्लब ब्यारेकमा भएको कारण वहाँले घुमघाम गराउँनु भएको थियो मलाई ।
दोस्रो पटक म हङ्गकङ्ग आउँदा मेरो दाजु र काका प्रेम काइतक एयरपोटमा मलाई लिन आउँनु भएको थियो । म अध्यागमनबाट बाहिरि आउँदा गफगर्दै मलाई कुरीरहनु भएको रहेछ । मलाई देखेर दुबै जनाले खुशीका हात हल्लाए । एकअर्कामा खुशी बाँड्यौँ । त्यस पछि टेक्शि चढेर सिधै चिम्साचुईको चुङ्गकिङ्ग मेन्शन पुगेर खाजा भुजा खायौ । दाजु ब्रिटिश सेनाबाट अबकाश भई फेरि सुरक्षा कम्पनीमा काम गर्न आउँनुभएको थियो । कम्पनीले दिएको होस्टलमा बस्नु पर्ने भएकोले मलाई वहाँसँगै लगेर राख्ल नमिल्ने भयो । त्यसैले प्रेम काकासँग गएँ । ठाउँ रमाइलो सफा, २५ तले सुरक्षा ब्याबस्था राम्रो भएको गगन चुम्बि महल । त्यो महलको नाम रिच लेण्ड गार्डेन थियो, चुनुमुन फेरी नजिकै । अरु साथीहरु पनि थिए, तरेवा भन्ने एकजना भाइ, तिलहाङ्ग लिम्बू बद्रि राई र सुदेस मामा । त्यस रात थाकेर होला भुसुक्कै निदाएछु । एकैचोटी बिहान ब्यूँझेँ । बिहानीको खाजा चिया खाएर, काममा जाने तयारीमा जुट्दै थिए सबै ।
म र सुदेस मामा भने नयाँ थियौँ । वहाँ अलिक अगाडि आउँनु भएकोले गर्दा हिँडडुल गर्न र अध्यागमनसम्म जनेआउँने अनुभब बटुलिसक्नु भएको थियो । १९ तारिख अक्टुबरका दिन कागजात च्यापेर सुदेस मामासँग वान्चाइ अध्यागमन बिभागतिर लाग्यौँ । (५९ एम) दुईतले बस चढेर चुनवान हुँदै वानचाइ पुगेको सँझना छ । फाराम भर्ने काम सबै सकेर नाम कुरेर बसेका थियौँ । नाम बोलायो र अध्यागमनका कर्मचारीले भने “सबै सक्कल कागजात लिएर अर्को महिना नोभेम्बरको १७ तारिक हाजिर हुँनु” ।
कोठाका सबैजना काममा जन्थे । सुदेस मामा पनि दिदीको घर जानु हुन्थ्यो यता म एक्लै पर्थेँ । मेरो घर परिवार सानी छोरी उन्तुकको तोतेबोली कानमा गुञ्जिरहन्थ्यो । एक किसिमले म पागल जस्तै हुन्थेँ । आफ्नो सन्तानको मायाले छाती पोलेको क्षण थियो । छोरीको यादले अति नै सताए पछि आइ डी हापेर घर फर्कने विचार गरेँ । नोभेम्बर ११ तारिक नेपाल फर्किने टिकट मिलाएँ र म फर्किएँ पनि । घरका सदस्य कसैलाई जानकारी दिएको थिइँन । राती म घर पुग्दा सबै छक्क परे । किन के कामले परेर आएको ? सोधिखोजि भयो । के भन्नु भएँ, अक्मक्किदै कागज नमिलेर मिलाउँनको लागि आ’को भनेर टारेँ । जिन्दगीमा पहिलो पटक यसरी झूट बोलेको थिएँ ।
दिन बित्दै थियो, हङ्गकङ्ग फर्कने चाह कत्ति थिएन । आफू भित्र मनोबाद चलिरहन्थ्यो । जा र नजा । तर केही दिन पछि फर्किनै पर्छ भन्ने मतले जित्यो मेरो मनलाई । अनि फर्कन बाद्य भएँ पनि । आफ्नो भन्दा पनि नानीको भोलिको दिन सम्झेर जा भन्ने मतले जित्यो । त्यसैले २५ नोभेम्बरमा हङ्गकङ्ग पुनः फर्किएँ । २६ नोभेम्बर, अध्यागमनमा हाजिर हुँनु पुगेँ । तोकिएको समय (नोभेम्बरको १७)मा नआ’को कारण सोधे कर्मचारीले । घरायसी कामले घरदेश फर्कनुपरेको कुरा बताएँ । अनि उसले भने बमोजिम कागजात सबै पेस गरेँ । केही बेरमा मेरो नाम बोलाइयो । उसले भन्यो तिम्रो कागजात पायौँ, अब चिठ्ठी पठाउँछौँ भन्यो ।
नभन्दै डिसेम्बर ३ तारिकका दिन अध्यागमनको चिठ्ठी आयो । मनमा खुल्दुली लाग्यो कतै कागजात अपुग त भएन भनेर ? मन यस्तै सोँच्दै पत्र खोलेर हेर्दा, प्रमाणित भयो ५ तारिक हाजिर हुनु भन्ने रहेछ । बल्ल डिसेम्बर ५ तारिक आयो । सबेरै उठेर बिहानीको नित्यकर्म सकेर मनभरि कुराहरु खेलाउँदै अध्यागमनतिर लागेँ । उही ५९एमबाट चुनवान हुँदै चुनवान एमटीआर स्टेशनबाट वानचाइ । पुग्नुसाथ राहदानी झ्यालबाट भित्र सुटुक्क छिराएँ र आफ्नो नाम चनाखो हुँदै सुनिरहन्थेँ । किन कि चाइनिजले नेपाली नाम सही उचारण गर्न नसक्दा नबुझिने भएकोले । मान्छेको भीड खुट्टा राख्ने ठाउँ हुन्न थियो । केही समय बसे पछि बोलाएर भन्यो कर्मचारीले “तिम्रा सबै कागजातहरु प्रमाणित भएकोमा बधाइ छ”। मैले पनि मख्ख पर्दै धन्यदबाद दिएँ । उनले एउटा टुक्रा कागज दियो र भन्यो माथि ८ तलामा फोटो खिचाउँन जाऊ । म खुशी हुँदै साततलाबाट एकतला माथि उक्लिएँ र फोटो खिचाउँनेहरुको मालामा उनिएँ म पनि । मेरो पालो आयो र फोटो खिचाएँ । फोटो खिच्ने मान्छेले नाम पर्खिनु भन्यो । पर्खि बसेको थिएँ । नाम आयो र मेरो बिबरणहरु लेखिएको कागजमा दुबै हत्केलाका छाप लिए । छाप नलागेका प्रमाण पत्रको सँख्या र बिबरण लेखिएको कागज मेरो हातमा थम्याइ दियो । यसरी डिसेम्बर ५ तारिक १९९५ देखि मैले हङ्गकङ्गमा बसोबास र काम गर्ने अनुमति पाएँ ।
काम गर्ने अनुमति त पाइयो तर निर्माण वा सुरक्षा क्षेत्र कुनैको पनि अनुभव थिएँन मलाई । हङ्गकङ्गमा कङ्गक्रिटको खेतीतिर लाग्नु पर्ने कि त सुरक्षा गार्डतिर । जिन्दगीमा पिता पुर्खाले नगरेको कंक्रिटको खेती निकै मौलाएको थियो र अझै छ पनि । अब घरदेशको हैन कामको सुर्ता सुरु भयो । कस्तो काम पाउँने होला भनेर । कामको खोजीमा थिएँ । मेरो दाजु छकुमार राईसँग जागिरकोबारे कुरा भयो । त्यस बखत आडम सेक्यू फोर्स कम्पनीमा भूपू सैनिकहरुको सुपरभाइजर हुँनुहुन्थ्यो वहाँ । कुरैकुरामा वहाँले मलाई सेक्यूरिटी गर्दैगर्नु भन्ने सल्लाहा दिनु भयो । वहाँले काम गर्ने कम्पनीमा भञ्जाहरुलाई पनि सुरक्षा सेवामा भर्ती गर्न थालेको रहेछ । मैले हुन्छ भने पछि कम्पनीमा कुरागरिदिनु भएछ । अनि भोलि पल्ट म वहाँ बस्ने ठाउँ त्बष् पयप त्कगष् ताइ कोक चुइ भन्ने ठाउँमा भेट्न गएँ । भेट्भएर दाजुभाइ सुरक्षा काममा प्रयोग हुँने सरसामान लिन कम्पनीमा गयौँ । यसरी मैले पहिलो जागिर सुरक्षा सेवाबाट शुरु गरेको थिएँ । तलब दिनको हङ्गकङ्ग डलर २२० को जागिर सेन्ट्रलको सपिङ्गसेन्टरमा परेको थियो । त्यो कामले खान, बस्न र काम धाउँन पनि अपुग हुन्थ्यो । अरु कामदारले दिनको ५०० डलर भन्दा धेरै पाउँछ भनेको सुनेर सस्तो जागिरदेखि बितृष्णा जाग्थ्यो । त्यसैले केही समय गरेर जागिर छाड्ने निधो गरेँ ।
अरु कामको बारेमा सोधखोज गरौँ भने पनि चिनेजानेका साथीभाइ त्यति थिएनन् । कामको खोजीको शीलशीलामा प्रेम काकाले भन्नु भयो “ए कान्छा, दिपक खड्काको कम्पनीमा काम गरन त है ।” यसो सोचेँ कतै काम खोज्न जाने ठाउँ चिनेको पनि त छैन । अनि काकालाई हुँन्छ भने । काका कोही मान्छेसँग टेलिफोनमा कुरा गर्नु भयो र भन्नु भो “भोलि अफिसमा जानेरे कान्छा ।”
भोलिपल्ट LRT चढेर चुनमुनको किन ओन(Kin On) अफिसको ठेगाना लिएर दिपक खड्काको अफिस पुगेँ । ठूलो कमर्सियल बिल्डिङ्ग भित्र बल्लबल्ल भेटेँ । मलाई ढोका बाहिर देखेर एउटा गोराले ऊ बसेको ठाउँबाटै बटन दबाएर ढोका खोलिदियो । अनि म अफिस भित्र पसेँ । जिन्दगीमा गोरासँग कहिलै बोलेको थिइन । गोरासँग अग्रेजी बोल्नै पर्ने भयो, अप्ठ्यारो मानेर भएन । जसोतसो सोधेँ “मे आई सी मिस्टर दिपक खड्का ?”
खिस्स हाँसेर उसले भन्यो “दिपक खड्का मै हुँ”
उनीसँग यसरी थुप्रै नेपालीहरु झुक्किदा रहेछन् । उनको पूरै शरिर दुबीको कारण छाला कपाल सबै गोराको जस्तै खैरो भईसकेको रहेछ । लाजले रातोपीरो हुँदै भने ए सर नमस्कार ! म अरुन (प्रेम)ले पठाउँनु भएको मान्छे हूँ । काकाले पूर्ब जन्कारी दिइसक्नुभएको कुरा उनले बताए । अनि कुर्सीतिर देखाउँदै बस्दैगर भनेर ऊ कागजात तयार गर्न लाग्यो । मनमा दुनियाँ कुरा खेल्दै थियो । अफिस देखेर छक्क परेँ । नेपालको सिंहदरवार भित्रको मन्त्रालय पनि यति ठुलो र सुन्दर कहिले देखेको थिइन ।
केही समयको बसाइ पछि उसले कागजपत्रहरु मेरो सामू राखेर सही गर्ने ठाउँ देखाउँदै सही गर्न लगाए । काम सकेर उसले भन्यो “भोली अरुण(पे्रम)सँग चुनमुनबात्र फेरीचढेर चेक्लाप्कोक आउँनु । अरुणले अफिसमा छाडिदिन्छ ।” अनि हुन्छ भन्दै म त्यहाँबाट बाहिरिएँ । ”मे आइ सि मिस्टर दिपक खड्का ?“ यो सम्झिन्दै एकलै हाँस्दै चुनमुनफेरी रिचलेण्ड गार्डेनको बासस्थानतिर फर्किएँ ।
कहिले नगरेको काम कस्तो होला ? कामको बारेमा कुरा गर्दा मेशिन चलाउँनु पर्छ, के के गर्नु पर्छ भन्ने सुनेको थिएँ । कस्तो मेशिन चलाउँनु पर्ने होला ? मेशिन कस्तो हुन्छ होला ? मनमा अनेका कुरा सोच्थेँ । किन कि मैले देखेको मेशिन भनेको पापाले राँभो बसिलाले ताछेर बनाएको हलो र जुवा अनि बिश्वकर्माले कमाएका खुकुरी, हँसिया, खुर्पा, कोदालो आदि मात्र थिएँ ।
नभन्दै भोलि भयो बिहान काकासँग फेरीचढेर चेप्लाक्कोक पुगेँ । अनि काकाले दिपक खड्काको अफिस यही हो । यहाँ बस्दै गर्नु ऊ आउँछ भनेर वहाँ आफ्ने कार्य क्षेत्रतिर लाग्नु भयो । पर्खाइमा थिएँ । म मात्र हैन अरु पनि जागिरको लागि आएका रहेछन् । उनीहरुसँग चिनजान भयो । त्यस बेला भेटिएका साथीहरुमा (मदन)बलराम गुरुङ्ग, हेनन्द राई, भगवान दास सुनुवार । भाइ भगवान दास अहिले यो लोकमा छैन । उसको मृतआत्मालाई चिरशान्ति मिलोस । नयाँ साथीहरुसँग परिचय हुँदै थियो । यतिकैमा दिपक खड्का आइपुग्यो र हामी सबैलाई छेवैको कन्टेनरतिर लग्यो र सेफटी जुत्ता, हार्नेस, हेल्मेट लगाएर तयार हुँन लगाए । हामी सबै तयार भए पछि काम गर्ने ठाउँतिर उसको पछि लागेर गयौँ । एकजना चिना फोरमेनसँन भेट गरायो । त्यो चीनाले हामीलाई काम सिकाउँने र अह्राउँने रहेछ । यसरी चीनाको निर्देशनमा कामहरु गर्दै गयौँ । यो मेरो निर्माण क्षेत्रको पहिलो अनुभव थियो ।
तर यो काम पनि मैले लामो समय गरिन । मिलनसार साथीहरु छाड्नु मन त थिएन । तर पारिश्रमिक केही धेरै र बस्ने ठाउँबाट नजिक भएकै कारण प्रथम अन्नदाता कम्पनी र साथीहरु छोडेर म चिङ्ग यी आइलेण्डको टनेलको काममा भर्ती लागेँ । यो काम चाहिँ काहुले खोटाङ्गका ध्रुब राईको माध्यमबाट मिलेको थियो । नया काम साह्रै डरलाग्दो । जमीनको सतहबाट ४६ मीटर गहिरो खाल्डो भित्र पसेर सुरुङ्ग भित्रको काम गर्नु पर्नेरहेछ । मनमा कत्रो त्रास ओडेर काम गर्नु पर्ने, यस्तो लाग्ने कि कुनबेला जिन्दगी झिरिप हुँन्छ ?
यसरी मेरो जिन्दगीमा निर्माण क्षेत्रमा सबै भन्दा खतरा कामसँग खेल्ने खेल शुरु भयो । अहिले सम्झिँदा काहाली लागेर आउँछ । एकदम ठूलो (TBM) टनेल बोरिङ्ग मेशिन थियो । यो टीबीएम सुरुङ्ग खन्नको लागि प्रयोग गरिने मूख्य औजार रहेछ । यो प्रबिधि देखेर छक्क लाग्थ्यो । मैले अहिलेसम्म गरेको यत्तिका कामहरु मध्य सबै भन्दा खतरा काम त्यो नै लाग्छ । यो काम पनि मेरो ८ महिनादेखि लामो चल्नसकेन । सुरुङ्गमार्गमा खतराको कारण देखाउँदै हामीलाई त्यो कम्पनीबाट अरु कम्पनीमा सरुवा गयौँ । एकै जिन्दगीमा पुनर्जन्म पाए झैँ लाग्यो । नयाँ कम्पनीमा काम सहज र सुरक्षित भएको कारण ।
यसरी समय बित्दै जाँदा धेरै किसिम्का निर्माण कम्पनीहरुमा काम गर्ने मौका पाएँ । फेरि अर्को जोखिमपूर्ण कामको लागि २८ डिसेम्बर २००६ देखि स्टोनकटर पुल(Stonecutters Bridge) बनाउँने कम्पनीमा जागिरे भएँ । स्टोनकटर टापुबाट चिङ्गयी टापुसम्म जाने १०९८ मिटर लामो झोलुङ्गे पुलको खम्बा निर्माण गर्ने समूहमा काम थियो हाम्रो । त्यस पुलको दुई वटा खम्बा छन्, एउटा स्टोनकटर र अर्को चिङ्गयी टापुमा । ३१४ मिटर अग्ला अग्ला यी दुबै खम्बा ठड्याउने काममा म स्टोनकटर टापुपट्टी थिएँ । झण्डै अढाइ वर्षको अबधिमा टावर ठड्याउँने काम सकिएको थिया । खम्बा ठड्इसके पछि मर्मतकार्यमा जुटीरहेको बेला २३ जुन ०९ मा म घाइते भएँ । घट्ना पछिका दिनहरु अशक्तताको कारण बेरोजगार नै बसेकोछु ।
बेरोजगार बसेको झण्डै १८ महिना बिती सकेछ । साथीहरुलाई फोन गरौँ भने, सबै काममा ब्यास्त हुन्छन् । रातीको काम गर्नेहरु दिनमा सुत्छन् । यसरी मदेखि साथीभाइ टाढा साथीभाइदेखि म टाढा भएको छु । त्यसैले मेरो नजिकको साथी भनेकै यो इन्टरनेट भएको छ । हेर्छु फेस्बूक भित्तोमा बिभिन्न बिधाका साहित्य लेख रचनाहरु टाँसिएका हुन्छन् । जे होस फुर्सद्लाई सही सदुपयोग गर्दा रहेछन् सबैले । अरु वेबसाइटतिर पनि साहित्य सिर्जनाका लहर चलेको देखिन्छ । मनपर्छ साहित्य तर बुझ्न कठिन लाग्छ मलाई । घरदेशबाट परदेश पुगेपछि आफ्नो माटो, कला, धर्म, सँस्कार,सँस्कृति, भाषा साहित्याको माया लागेर आउँदो रहेछ । त्यसैले होला परदेशबाट लेखिएका लेख तथा रचनाहरुमा ःदेशप्रेम या देश दुःखेको भेटिन्छ । कहिलै नलेख्नेले पनि लोख्न सुरुगरेको भेटिन्छ । मलाई पनि साहित्य सिर्जना गरौँ लाग्छ । तर शब्द छिरोलेर साहित्य सिर्जना गर्नु भनेको मुस्किल नै हुँदोरहेछ ।
चारवर्षे पर्देशी जीवन बिताएर घरदेश फर्कने अठोट लिएर आएको थिएँ तर डेड दशक बितिसक्यो । खै सोँचे जस्तो कहाँ पुग्दो रहेछ र ? के सोचेँ मैले, के भयो ऐले ............यस्तै भएको छ । पर्देशबाट घरदेशलाई चिहाइरहेको छु । देशको अबश्था अनि मेरो ब्याक्तिगत बिबिध कारणले गर्दा अझै यहीँ छु । भ्यागुताको धार्नी पुग्नु र म घरदेश फर्किनु उस्तै उस्तै भएको छ । हेरौँ समयको बहाबले हुत्याउँदै कहाँ पुर्याउँछ ?
समयः १२ जनवरी २०११
साभारः हङ्गकङ्गमा खोटाङ्गे स्रष्टाका सिर्जनाहरुबाट
३१ डिसेम्बर २०११ साल संझन योग्य दिन रह्यो । अगाडि गणेश रसिक र बिष्णुनन्द चाम्लिङ पछाडि उभिनेमा--विश्वासदीप तिगेला, धिरज राई, अधिराज राई 'प्रकाश' रुद्र नाल्बो र टंक सम्बाहाम्फे ।
मन खै के के भन्छ आज एक तमासले सताइरहेको छ मलाई। खोटाङ्ग,इन्द्रेणीपोखरी–३ काभ्रेटार,पूर्ब दक्षिण फर्केको गाउँ,पश्चिम दिशा मोहडा परेको म जन्मेको घर भत्किसक्यो भन्ने सुने। मेरो खेतबारी सबै गौचरण भयो अरे,गौचरण फटाहाहरुले खोरिया फाँड्यो अरे। जान्ने सुन्ने त्यही फटाहाहरु नै भए भन्छन्। हिजो मात्र एकजना गाउँले काकाले गाउँघरतिरको खबर सुनाउँदै भन्नुभयो “तिम्रो घर त ढलेछ! अनि मतान पनि भत्के छ,कहीले फुर्सद हुन्छ ? फोटो हेर्नु आऊ है मेरो घरतिर। तिम्रो भत्केको घरको,हाम्रो गाउँको अनि हामी पढेको राष्टिय प्राथमिक बिद्यालयको फोटो खिचेर ल्याको छु ।”
मलाई एकतमासले मेरा भुतहरुले फनफनी घुमाउँन थाल्यो बर्तमानमा आएर। हिजो जस्तो लाग्छ मैले गाउँ घर छोडेको,२२ वर्ष पत्तै नपाइ बितिसके छ। जुन ठाउँको धर्तीमा मैले पहिलो पाइला टेकेको थिएँ,जुन ठाउँको प्रकृतिले मेरा बाल्यबस्था साथै यौवनहरु हुर्कायो। समयको बहावसँगै आज म त्यो ठाउँ देखि धेरै टाढा आईपुगेँ। कर्म गर्दै भाग्यको खोजिमा सात समुन्द्र पारि छु । यतिका वर्ष बिति सक्दा म चाहेर पनि फर्केर गाउँ जान सकिरहेको छुइन। समय र बाद्यता साह्रै बलियो हुन्छ भनेको सुनेको थिएँ आफैँले भोगेर थाहा पाएँ हो यो सत्य रहेछ। सायद गाउँघरले मलाई बिर्सिसके होलान् तर मैले सम्झिरहेको छु। त्यो गोरेटाहरु,गल्लि,बनजङ्गल,डाँडापाखा,भीरपाखा,ठाँटीचौतारी र खोलाखोल्सीहरु मेरो आँखा अगाडि झलझली आई रहन्छन् हरपल ।
मलाई गाउँको राष्ट्रिय प्राथमिक बिद्यालयमा छँदाको क्षण अविश्मरणिय लाग्छ। यो आज भन्दा झण्डै ३०–३१ साल अगाडिको कुरा हो। म सानैदेखि स्कूल जान खुबै रुचाउँथेँ। त्यसैले म ४ वर्षकै उमेरमा पहिलो पटक बिद्यालय प्रवेश गरेको थिएँ। स्कूलमा रहँदा छिनछिनमा आमाको साह्रै याद आउँने गथ्र्यो। किन कि म ठूलो हउञ्जेल आमाको दूध खाने गर्थेँ। नयाँनयाँ अनुहारका थुप्रै साथीभाइहरुको बीचमा आफूले पनि शिशाकलम र कापी च्याप्न पाउँदा,आफूलाई ठूलै मन्छे ठान्दै आमालाई र मीठो दूधलाई पनि भूल्न पुग्थेँ। नायाँ साथीहरु भेटेर रमाइलो त लागेको थियो तर केही साथीहरु भने अलिक छुच्चो स्वभावका थिए। उनीहरुले नयाँ आउँने केटाकेटीहरुलाई जिस्काउँने चिमोट्ने गर्थे ।
स्कूल जान थालेको ४–५ दिन मात्र भएको थियो होला। गणेश फयल नाम गरेको मास्टरले कालो पाटीमा क...देखि ज्ञ... सम्मको ३६ वर्ण लेखेर मलाई सोधे। खासै मलाई पढ्न गाह्रो थिएन। किन कि मेरो मामा र दाजु त्यस समय उच्च बिद्यालयमा अध्यायन गरिरहनु भएको थियो। उहाँहरु बेलुकी पढ्न बस्दा आमाले बजारबाट किनेर ल्याइ दिनु भएको “ठूलो वर्णमाला” भन्ने किताब मलाई पढाउँनु हुँन्थ्यो। त्यसैले स्कूल जान अगावै मैले क ख र केही गन्तिहरु पढन र लेख्न समेत जन्ने भई सकेको थिएँ। त्यो मास्टरको आदेश अनुसार मैले कालो पाटीको क ख उच्चारण गर्दै गएँ। तर अन्य तिर “क्ष” चिन्न नसकेर अड्किन पुगे। किन कि मैले ठूलो वर्णमालामा पढेको अथवा चिनेको अक्षर गाँठोपारी क्ष थियो भने उसले ८लाई कान्धानी दिए जस्तो क्ष लेखेको थियो । पछि थाहा भयो ज्ञ र क्ष दुई तरिकाले लेख्न सकिने रहेछ। तर दुःखको कुरो "क्ष”अक्षर नचिन्दा त्यो मास्टरले मेरो मसिनो छोटोछोटो औँला मासुले भुक्क परेको कलिलो हातमा हरियो बाँसको सिर्कनाले हिर्कायो ।
नजान्नु कसैको गल्ती हैन। नजानेको कुरा सिकुन भनेर त बच्चाहरु स्कूल पठाइन्छ नि। यसरी म दुःखी र त्रसित हुँदै हातको त्यो सिर्कनाको डाम र आँशुका बलिद्र धारा बगाउँदै घर फर्किएको थिएँ। घरमा आएर पापा आमालाई त्यो सुम्लो देखाउँदै झन भक्कानो छाडेर रोयको थिएँ। आमाले मलाई आफ्नो छातीमा टाँसेर मेरो हात सुम्सुम्याउँदै तेसको भोली म ठीक पार्छु भन्दै मुखमा दूध कोचरीदिनु भयो। आमाले दिनु भएको शान्त्वनासँगै दिनभरिको प्यास मेटाउँन दूध खाँदै हिक्कहिक्क गरिरहेको थिएँ। तर मेरो पापा आमा अति सिधासाधा भएको हुँदा त्यो मास्टरलाई कुनै सोधबुझ भएन। मेरो उजुरी त्यतिकै सेलायो कुनै सुन्वाइ भएन। रात बित्यो,बिहानी भयो स्कूल जाने बेला भयो तर म अघिल्लो दिनको कुटाइ सम्झेर स्कूल जान मानिन। अहिले पनि सम्झन्छु त्यो दिन र साह्रै दुःख लाग्छ। मैले जस्तै कति निर्दाेष बलबालिकाले भोगी रहेका होलान् मैले जस्तै पीडाहरु। जुन कारणले कति बालबालिकाहरुको भविश्य शिक्षाको ज्योतीबाट बञ्चित भएका पनि होलान्। बालमनोबिज्ञान सम्बन्धी ज्ञान नभएका र शिक्षक तालिमसम्म पनि नगरेका शिक्षकद्धारा पढाइँदा बालबालीकाहरुले कस्ता शिक्षा पउँछन्? जो जागिर खानको निम्ति मात्र शिक्षक बन्छन् भने उसँग शिक्षकमा हुनु पर्ने गुण हुँदैन। त्यस दिनदेखि मेरो स्कुल फेरि गोठालामा परिणत भयो ।
दुईवर्ष जतिको गोठालो जीवन बित्यो। फेरि स्कुल जानलाई मेरो घर मूनीको साइनोले काका पर्नु हुन्छ,बिष्णु काका र खड्ग बहादुर काकाले फकाउँनु भयो तर मानिन। अलिक पछि फेरि घरमाथिकी दिदी पर्नेले फकाउँनु भयो,मास्टरलाई म कुट्न दिन्न भनेर। नजिकैकी दिदी भएर होला मैले दिदीलाई बिश्वास गरेँ। हल्का डर बोकेर दिदीकोसाथ लागेर पुनः स्कूल प्रवेश गरेँ। साह्रै हर्षित भएको थिएँ । किन कि मलाई कुट्ने त्यो मास्टर सरुवा भई सकेको रहेछ ।
त्यतिबेला शिक्षक श्री प्रसाद भट्टराई प्र.अ.र भुपराज राई हुनुहुन्थ्यो। फेरि नयाँ साथीहरुसित मेरो स्कूले जीवन शुरु भयो । समय बितेको पत्तै नपाइ कक्षा एक पारगरेर कक्षा दुईमा प्रवेश भएको थिएँ। एक दिनको कुरा हो,मौसम थियो। साथीहरुसँग दिउँसो खेल्ने छुट्टीमा खोलामा पौडी खेल्ने सल्लाहा भयो। बिनोद अलिक आँटी स्वभावको थियो र ऊ केही गर्ने भने पछि गरिछाड्ने। खोलामा गएर पौडी खेल्ने सबैले सहमति जानायौ र हामी खोला तर्फ हानियौँ। जाँदा ओह्रलो भएकोले चाँडै पुगेर धित मरुञ्जेल खेलियो । फर्कनलाई भने निकै मुस्किल थियो किन कि पौडि खेलेर थाकेको जिउ फेरि उकालो बाटो । भिजेको शरीर सुकाउँनको लागि घामले रन्केको तातो चप्लेटी ढुङ्गामा उत्तानो घोप्टो कोल्टो गर्दै टाँसिनु पथ्र्यो। हमी पनि त्यसरी नै चिसो लूगा र जिउ सुकाइ सकेर स्कूल फर्कने तयारीमा थियौँ। अचानक छिमेकी राम दाइले माछा मार्दैगरेको देखियो। त्यो माछा हेरेर दिलीप,प्रेम,राजन,बिनोद र म उतै भूले छौँ, समय बितेको पत्तै भएन ।
साँझ परिसके थियो। भुक्के चप्पल हातमा सिउरेर ढुङ्गा काँढा नभनी उकालो दोडियौँ। दुःखको कुरो स्कुल बन्द भई सकेको थियो। हाम्रो किताबहरु शिक्षक कार्यलयमा लगेर थुनिएको रहेछ। मुटुले ढ्याङ्ग्रो ठोक्यो,दुःखी हुँदै घर जान शिवाय अरु केही उपाय थिएन। चारै जना आ–आफ्नो घरतिर लाग्यौँ,घरमा पापा आमाले थाहा पाउँनु होला भन्ने अर्को डर फेरि । भगवानको कृपाले पापा आमालाई त्यो कुरा थाहा भएनछ र आजसम्म पनि सुनाएको छुइन। रातभरि छटपटी लाग्यो कति निदाउँने कोशिश गरेँ तर सकिन। घरि सिरक भित्र गुटुमुटु घरि उठेर बस्दै छिन्छिन्मा पिसाब आए जस्तो पनि हुँने,अति कष्टसँग जागै रात बित्यो। पाकेको गोलभेडा जस्तो आँखा लिएर बिहानीको उषालाई स्वागत गरेँ। बिहानको घरधन्दा कामकाज सकेर हातमुख जोडे पछि स्कूल जा..जा...भन्दै पापाको बुडो टेबुलघडी खोपीमा छक्लक छक्लक गर्दै थियो।
म दोधारमा परेको थिएँ त्यसबेला,स्कूल जाउँ कि नजाउँ? डरको भारि झन गह्रौँ हुँदै जान्छ,बोकेर डरको भारी म बिना किताब कापी स्कूल तर्फ लागेँ। प्रर्थनाको लागि लस्करमा लुकेर पछाडि उभिएको थिएँ। तर म त्यो परिस्थितीबाट भाग्ने कुनै बाटो पनि थिएन। मलाई प्रर्थना शुरु गर्नको लागि अगाडि आउँनु भनि बोलाइयो। मनभरि त्रास बोकेर साथीहरुको अगाडि अँधेरो आनुहार देखाउँदै शाहाहरुको गुणगान गरेँ। त्यो गुणगान सकेर सबै भित्र गए तर म लगाएत दिलिप,प्रेम,राजन र बिनोदलाई बाहिर राखियो। अनि शिक्षक भुपराज राईद्धारा अघिल्लो दिनको बारे सोधबुझ हुँन थाल्यो। हामीले गल्ती स्वीकार्यौँ,तर सजाय भोग्नु पर्ने नै भयो। हामीलाई निधार र खुट्टाको बुढी औँलाले भूइँमा टेकेर जीउलाई ओदान जस्तो घोप्टो गरेर धान्नु पर्ने भयो। केही बेर त्यसैगरि अडेका थियौँ तर "राजन" त्यसो गर्न इन्कार गर्दै घरतिर लागे। सायद तेही रोष हुँन सक्छ हामी माथि खनियो र बाँसको सिर्कना हाम्रो ढाडमाथि बर्साइयो। त्यो सिर्कनाको सुम्लो अझै मेरो ढाडमा छ जस्तै लाग्छ। किन कि मैले बेलुकी घर गएर ऐनामा हेरेको थिएँ त्यो डामहरु अझै झलझली याद आउँछ ।
समय बित्दै गयो शिक्षक भुपराज दाइ उच्च शिक्षा हाँसिलको निम्ति काठमाण्डौ तिर लाग्नु भए छ। प्र.अ.श्री प्रसाद भट्टराई मात्र हुनु हुन्थ्यो शिक्षक त्यसैले हामीलाई कक्ष १ देखि ३ सम्म पालैपालो पढाउँनु हुन्थ्यो । उहाँ पनि एकजना राम्रो शिक्षक हुनु हुन्थ्यो । तर वहाँको एउटा बाँनी साह्रै नराम्रो थियो,त्यो के भने खोटाङ्ग बजार गएर बिजुले बाँडाको घरमा तास खेल्नु हुन्थ्यो। केही समय बिते पछि भुपराज दाइको साटो अरु कोही नयाँ शिक्षक आउँने हल्ला चल्यो। त्यो हल्लासँगै कस्तो मास्टर आउला भनेर कउतुहल्ता पनि मच्चिदै थियो म भित्र। अगुल्ठाले हानेको कुकुरलाई बिजुली चम्किन्दा तर्सिन्छ भने जस्तै भाको थियो। किन भने हाम्रो पालामा सानो गल्ति गर्यो अथवा सोधिएको प्रश्नको जवाफ दिन नसक्दा कुटाइ खानु पर्ने कुटन्ते शिक्षा थियो। हाम्रो पालामा ९–१० कक्ष बढेकाहरु मस्टर हुन्थे त्यति जानेकाले् रामरी पढाउँन् पनि कसरी?
नभन्दै केही दिनको प्रतिक्षा पछि कमल प्रधान गुरु आउँनु भो। हामीलाई हात हल्लाउँदै हेल्लो भन्नु भयो तर हामी चुपलागेर हेरिहयौँ,अहिले थाहा पाउँदा हामीले पनि हाई भनेर हात हल्लाउँनु पर्ने रहेछ। सफा धारिलो पत्लुङ्ग र कमिज लगाउँनु भाएको,कालो टलक्क टल्केको जुत्ता,कपाल चटक्कै कोरेको गेरो वर्णको हुनुहुन्थ्यो। वहाँ दार्जीलिङ्गको हावापानीमा हुर्केबढेका र पढेका मानिस हुनुहुन्थ्यो। पुख्र्यौली घर भने खोटाङ्ग बजार नै हो । सोँचे भन्दा फरक वहाँ एउटा शिक्षक मात्र नभएर साथीको रुपमा पनि पएको थिएँ। साह्रै मीठो बोलीवचन थियो उहाँको। आएको भोली पल्टदेखि पढाउँन थाल्नु भएको थियो होला। मा.बि.स्तरसम्म पनि कमल गुरुले बहेक अरु कुनै शिक्षकले बिद्यार्थीलाई तिमी भनेर बोलाको सुनिन। मलाई लाग्छ वहाँ एक अति भलाद्मी ब्याक्ति हुनु हुन्थ्यो। “एउटा कमिलो हिँडि रहेको थियो,दुम्सि,लेखर्के र मैना चरी”यस्तै धेरै उहाँले पढाइएका पाठहरु अझै कण्ठष्थ छ ।
हाम्रो पढाइको तरिका पूर्णरुपमा परिवर्र्तन भयो। शुक्रबार स्कुलको कक्षा कोठा लिपपोतकासाथै स्कूल वरिपरि सरसफाइ गर्नु पर्ने, सरसफाइ सकेर नाचगान,हाजिरीजवाफ,खेलकुद जस्ता अतिरिक्त कृयाकलाप हुन थाल्यो। म हाजिरी जवाफ र खेल्कुदमा मात्र भाग लिन्थेँ। नाचमा बिनोद र दिलिप अनि अरु पनि नाच्ने गर्थे र केटीहरु बिमला,सृजना,निर्मला,रमा आदि। कमल प्रधान गुरु साह्रै मीठोसँग गाउँने बजाउँनु हुन्थ्यो,खस्र्याङ्गमा छँदा रेडियो खस्र्याङ्गमा काम गर्नु हुन्थ्यो रे भन्ने सुनिन्थ्यो। पारिवारिक झमेलाको कारण एक छोरा र आमालाई लिएर आफ्नो बाबुको जन्मभूमि खोटाङ्ग बजार आउँनु भाएको रे। अहिले सम्झिँदा ठूलो कलाकार हुनुहुन्थ्यो रहेछ। शुक्रबार स्कूल आउँदा घरबाट हार्मोनियम र मादल बोकेर स्कुलमा ल्याउँनु हुन्थ्यो। हामीलाई गीत गायर सुनाउँनु र नचाउँनको निम्ति। बजाउँदै गाउँदै हामीलाई स्वरमा स्वर खापेर तालि बजाउँदै गाउँन भन्नु हुन्थ्यो। शुक्रबार स्कूल नजिक घर भएका हाम्रा अविभावकहरुले समेत गीत सुन्न मौका पाउँथे ।
हामी तीन कक्षा प्रवेश पछि एकपटक दुई प्रा.बि.बीच शिक्षक तथा बिद्यार्थीहरुको भेटघाट कार्यक्रम हाम्रो स्कूलले राखेको थियो। स्कुलहरु खोटाङ्ग बजारको खोटाङ्ग प्राथमिक बिद्यालय र हाम्रो राष्टिय प्राथमिक बिद्यालय,इन्द्रेणीपोखरी–३ खोटाङ्ग कात्तिके । हाम्रो स्कूलको निमन्त्रणा स्विकार्दै त्यस स्कूलका शिक्षक र बिद्याथीहरु हाम्रो स्कूलमा आएका थिए। भेटघाट कार्यक्रममा हाजिरीजवफ,भाले जुधाइ,टोपी लुकाउँने,रिले दौड साथै नाचगान जस्ता कार्यक्रम राखिएको थियो। कार्यक्रम हाजिरीजवाफ–प्रतियोगीताबाट शुरु भई नाचगानमा टुङ्गिएको थियो। अन्य खेल खेलाईसकेर गोला प्रथाद्धारा छानिदा गायन र नृत्य शुरु हाम्रो स्कुलले गर्नु पर्ने भयो। गुरु कमल प्रधानको सुमधुर स्वरबाट साँगीतिक कार्यक्रमको थालनी भएको थियो। हार्मोनियम,मादल र चाँप (घुँगुरु)मात्र बाजा थियो जस्तो लाग्छ। त्यति बेला मादल चाहिँ हाम्रै अभिभावक कसैले बजाउँनु भएको थियो जस्तो लाग्छ।
हार्मोनियमको सात स्वरमा आफ्नो सुमधुर स्वर थपेर स्वागत गीत शुरु गर्नु भएको थियो कमल गरुले । त्यो गीत यस्तो थियो “हरबर ऽ हरबर ऽ हरबर ऽ हरबर ऽ यो आलाप यति लामो थियो कि सासै नफेरी तेतिका लामो समयसम्म कसरी भन्न सक्या? फेरि तेसै आलापमा जोडेर तोरीको फूल,बजैको घरमा तन्नेरिको हुल”......भन्नु भयो । हरबर ऽ हरबर ऽ यो आलाप भन्दा सबै दर्शकहरु छक्क परेर टवाल्ल हेरिरहेका थिए भने बज्यैको घरमा तन्नेरीको हुल भन्दा सबै एकै स्वरमा गललल.... हाँसेका थिए। यसरी हाँसेर माहोल नै हाँस्य कार्यक्रम जस्तै भएको थियो ।
कार्यक्रम हेर्नको लागि हाम्रा अविभावकहरुलाई पनि निम्तो गरियको थिए। धेरै जसो अभिभावक कार्यक्रममा उपस्थित थिए। तर त्यस कार्यक्रममा मेरो पापा आमा भने दुबैको उपश्थिति नहुँदा म केही दुःखि थिएँ। अरु अविभावकहरु कार्यक्रम हेरेर अति रोमाञ्चित देखिन्थे। त्यस दिन सबैले खनिखोस्रि,कुटोकोदालो,हलोजुवा र हलगोरु बिसाएर आएका थिए। अन्य गीत कस्ता थिए,साथीहरु कुन गीतमा नाचे गीत याद छैन मलाई। हाम्रो स्कूलको तर्फबाट साथीहरु बिनोद र दिलिप अरु पनि थिए होलान् अनि केटी साथीहरुलिे पनि नाचेका थिए। धेरै खेलहरु हाम्रो स्कूलले जितेको थियौँ भने केही खेल र नृत्यमा खोटाङ्ग प्रा.बि.ले नै जितेको थियो जस्तो लाग्छ मलाई ।
त्यही साल गुरु कमल प्रधान र प्र.अ. श्री प्रसाद भट्टराईको नेत्रित्वमा हामीले हाम्रो गाउँ इन्द्रेणी पोखरी वडा नं ३ र ४को सबै घरआगनमा हामीले देउसी भैली खेलेका थियौ। यसरी गाउँभरि देउसी भैलो खेलेर स्कूलको निम्ति केही कोष जम्म भएको थियो। त्यस समय हाम्रा अभिभावकहरु पनि सहयोग दिनको लागि अति उत्सुक थिए। पैसा हुनेले पैसा राखिदिए भने पैसा नहुँनेहरुले धन, कोदो र मकै जस्ता चिजहरु दिएर सहयोग गरेका थिए। त्यो सबै कमल गुरुको हरबरले गरेको कमाल थियो ।
देउसी भैली खेले जस्तैगरि रमाइलोसँग हाम्रो प्रा.बि.स्तरको पढाइ सकियो। एकै दिन पनि कसैलाई नराम्रो बेलीबचन गर्नु भएन र कुट्ने त कुरै छाडौँ। कक्षा ३ को अन्तिम परिक्षा उतिर्ण गरेपछि हामी 'खि' नाम गरेको हाम्रो गाउँको खिखोलो(जुन खोलामा पौडि खलेका थियौँ)तरेर निम्नमाध्यमिक र माध्यमिक शिक्षाको लागि श्री भगवती ब्या.मा.बिद्यालय खोटाङ्ग बजार जानु पर्ने भयो। स्कूल परिवर्तन पस्चयात कमल गुरुसँग भेट्घाट कम हुँदै गयो। पछि सुन्दा स्कूल संचालक समितिको बैठकमा केही कुरा नमिल्दा भनाभन भएको थियो रे। त्यही कुरालाई लिएर सँचालक समितिको सदस्य फटाहाहरु मिली वहाँलाई स्कूलबाट निस्कासन गरेछन्। यसरी अपमान सहन गर्न नसकेर हामी र हाम्रो गाउँलाई छाडेर डार्जिलिङ्गतिरै फर्किनु भयो। जीवनमा धेरै शिक्षक भेटेँ तर कमल प्रधान जस्तो शिक्षक भेटेको छुइँन । जहाँ जसरी रहे पनि सुखी र खुसी हुनुहुन्छ होला भन्ने ठानेको छु ।
०९/१२/२०११
अष्तु :
वसन्त र ग्रीष्म ऋतुको बीचको समयले माझकिरातको गाउँघरमा अथवा किरात राईहरुको बस्तीतिर सालै पिछे हर्षोल्लाष र उमङ्ग लिएर आउने गर्छ ।
बनपाखा,खेतबारीका बोटबिरुवाहरुले पालुवा फेरिसकेका हुन्छन्। चराचुरुङ्गीहरुले भाषा फेर्नथालिसकेका हुन्छन् । घर वरिपरीका बारीभरि लहलह मकै उम्रीसकेको हुन्छ । नौ सिङ्गे भाले आगन घुर्यान अनि गाईगोठ र सुँगुरको खोरको धुरीधुरी चढेर पखेटा भ्याट्भ्याट्गर्दै कुकुरी काँ...गरेर बास्दै गरेका हुन्छन्। पोथी भने आफ्नो चल्लाहरुलाई खानेकुरा खेजेर खुवाउँदै हैरान हुन्छे, तै पनि भाले बासेको सुनेर कोरकोर गर्दै,भालेतिर मुन्टो घुमाउँन भने छोडि्दन । बडो चलाखीसाथ रहनु उसको कर्तब्य हुन्छ। किन कि त्यो हरियो मकै बारी भित्रबाट लुकेर स्याल बनबिराला र आकाशबाट बकुलो/बेसाराले आफू र आफ्ना बथानलाई आक्रमण गर्दै त छैन भनेर । पोथीले मात्र होइन भालेले पनि आग्लो ठाउँमा चढेर वरपर हेर्ने गर्छ । यदी केही नौलो देखेमा वा खतराको संकेत पाएमा आफ्नो बथानलाई थाहादिन कोऽऽऽकोक्याऽऽक गर्दै कराउँने गदर्छन् ।
किरातराईहरुको पीत्र अथवा कुलमा सुँगूर र कुखुरालाई चोखो पशु पन्छिको रुपमा लिइन्छ। गाई,भैँसी र सुँगुर पाल्न नसके पनि कुखुरा भने अनिवार्य पालेको पाइन्छ । घरको शोभा बढाउँनको निम्ति पालिएको पनि हुनसक्छ ।
बिशेष गरेर मासुमँसको लागि अनि कार्य पूजा गर्नु परेमा कुखुरा नभई नहुँने भएकोले पनि कुखुरा पाल्ने चलन अनिवार्य चलि आएको हुन सक्छ । अरु याममा धेरै न भए पनि बैसाके पूर्र्णो र मँसिरे पूर्र्णोतिर भने किरात राईहरुलाई कुखुरा निकै चाहिँन्छ । किन भने किरातराईहरुले बैसाके पूर्णीमालाई उभौली र मंसिरे पूर्णीमालाई उँधौली भनी पूजा गर्दै आएको हामी पाउँछौँ ।
भलेले कुखुरी काँ ऽऽऽ बासेर बिहानी प्रहरहरु छुट्उँने गर्दछ त्यसैले भालेलाई समय सुचकको रुपमा पनि मानीलिएको पाइन्छ। किरातराईहरुले परापूर्वकालदेखि समय सुचकको रुपमा मानेर हुँन सक्छ, शिली नृत्यमा पनि भालेको हाउभाउ बडो अर्थपूर्ण र रोमाञ्चित ढङ्गले प्रस्तुत गरिएको पाइन्छ । नाच मात्र नभएर गीत पनि गाउँने गरेको भेटिन्छ गाउँघर तिर ।
जस्तैः
पानी पतैमा काटौँला सिन्ताङ्ग एऽऽऽनि लै ऽऽऽ भाले डाकैमा ..........
यो सिन्ताङ्ग भन्ने ठाउँ खोटाङ्ग जिल्लाको बाराहा पोखरीदेखि माथिको अग्लो डाँडा हो, यो ठाउँबाट तराईतिरको समथर भूभाग र चुरेपर्बतहरु राम्ररी देखिन्छन् । प्रथम प्रहरमा भाले बस्दा सिन्ताङ्ग डाँडा पुगन् सकेमा तराई अथवा शहर झर्नु धरै नभएको कुरा गीतले बोलेको हुन पर्छ ।
किरातहरु प्रकृति पूजक हुन भनेर चिनिएको मात्र नभएर नेपालको एक आदिवासी जाति पनि हो। बैसाक र जेष्टको मध्य समय भनेको बालिनाली लगाउँने समय हो अथवा उभौली भनिन्छ। यतिबेला किरात राईहरु आफ्नो कुलको मूल धमीद्धारा आफ्नो चुल्हा अथवा साकेला थानमा पूजा गरेर अन्नबाली राम्ररी उत्पादन होस, धर्ती उर्वर बनाइ देऊ भनेर प्रकृतिसँग प्रार्थना गर्ने गरिन्छ। यसरी पूजा गरिँदा शिली नाच्नेहरु बिभिन्न हाउभाउ गर्दै शिली नच्नु पर्ने हुन्छ । साथै आफ्नो इष्टदेवसीत सुख, शान्ति र समृद्धिको कामना पनि गरिन्छ ।
बालीनाली पाकीसके पछि फेरि मंसिरे पूर्र्णोमा उधौली पूजा गरि आफ्नो कुल अथवा इष्ट देबलाई पाकेको अन्न बाली देखाएर मात्र आफूहरुले खाने सँस्कार छ। यसरी पूजा गर्दा किरात राईहरुको कुलदेवतालाई कुखुराको बली दिने प्रचलन रहिआएकोछ ।
खेतबारी खन्जोत गर्नु, बली लगाउँनु र गोडमेल आदि कुराहरुले यो समय अतिनै ब्यस्त हुन्छन् गाउँघर तिर । यस्तो ब्यस्त समयमा पनि म भने मेरो सानो ढोल कसरी बज्ने बनाउँने भन्नेमा चिन्तित हुन्थेँ । ढोल केहो भन्नु पर्दा,यो किरातहरुको बिनायो,मुर्चुङ्ग जस्तै मौलिक बाजा हो भन्न म रुचाउँछु । बिनायो र मुर्चुङ्गा जहिले जहाँ पनि बजाउँन सकिन्छ भने, ढोल मूल धामीको बिना अनुमति जथाभावि बजाउँनु भने राम्रो मानिदैन । यदि जथाभावि गरे अनिष्ट हुन्छ भन्ने मान्यता परापूर्वकालदेखि रहिआएको छ ।
म ११/१२ वर्षको हुँदो हूँ,आमासित अनुनय बिनय गरेर माथिल्लो घर रामदाइसँग सार्की गाउँमा प्वाँले होइन भने माले गोरुको छाला खोज्न पुगेको थिएँ। मेरो बाजेले भन्नु हुन्थ्यो,"प्वाँले र माले गोरुको छालाले मोहोरेको ढोल राम्ररी बज्छ"। त्यसैले सार्कीको घरबाट गोरुको छाला छानिछानि ल्याएर हिलोमा केही दिन गाडेर राखेको थिएँ। फेरि अर्को पीर स्यालले त्यो छाला लगीदिने होकि भन्ने । त्यसैले मैले त्यो छालालाई दबदबे हिलोको निकै गहिरो ठाउँमा उचाल्न सक्ने ढुङ्गाले थिचेर राखेको थिएँ ।
केही दिनमा छाला राम्ररी भिजिसके पछि घर ल्याएर ढोलको दुबैतिरको मुख नापेर ठिक्क हुनेगरि छाला काट्नु पर्छ। बाँसको कुँडुलो(गोलो) बनाएर त्यो छालालाई छालाकै सानो ताना काटेर हल्का तन्काउँने अथवा बुन्नु पर्ने हुँन्छ । फेरि छालाकै अलिक चाक्लो र लामो ताना होशियरपूर्वक ठूलोसानो नहुने गरि काटेर ठिक्क परिसके पछि ढोल मोहोर्ने काम शूरु हुन्छ । त्यो तानालाई बडो कलात्मक ढङ्गले ढोलको मुख ढाक्ने छालाको बीटमा बराबरी दूरीमा सानो प्वाल पार्दै छिराउँने गर्नु पर्छ ।
यसरी ढोलको दुबैतिरको भाग ढाके पछि बिस्तारै ताना कस्नुपर्छ। बजाउँदा एकपटी ठूलो र अर्को पटी सानो आवाज बज्नुपर्ने हुन्छ। घाममा सुकाएको ढोल घाम लाग्दा मात्र बज्छ र ओसिलो दिन अथवा साँझ पर्दै गए पछि राम्रो बज्दैन । त्यसै कारणले ढोललाई ठिक्क तन्क्याइ सकेपछि ओतिलो ठाउँमा २/४ दिन राख्नु अति राम्रो हुँन्छ। आलो हुँदा गजाले कसेर हिर्काएर बजाउँनु पनि हुँदैन। यदि यसो गरेमा ढोलको आलो ताना र ताल खुस्केर खकुलो भई राम्रो बज्दैन। यसरी बनाइएको ढोल जतनले चलाए ५/६ वर्षभन्दा ज्यादा टिकाउहुन्छ। छोटकरीमा ढोल बनाउँने केही तरिकाहरु माथि दिएको छु र मैले पनि त्यही पुर्खेउली प्रबिधि प्रयोगगरि मेरो सानो ढोल मोहोरेहो थिएँ ।
मेरो सानो ढोल मोहोरी सकेर पछि रातभरि छटपटी लागेको थियो, कहीले सुक्छ र बजाउँनु,यस्तै यस्तै मनोबाद चलिरहन्थ्यो म भित्र। यसरी ढोल तयार गर्नुको लागि सहयोगी र गुरुको रुपमा मेरो छिमेकी राम दाइ हुनुहुन्थ्यो। रामदाइबाट मैले राम्रा नराम्रा धेरै कुराहरु सिक्ने मौका पाएको थिएँ। किन कि मेरो बाल्यकालदेखि किशोर अबस्थासम्म उहाँसित धेरै उठबस भएको थियो। ढोल बनाउँनु,शिली नाच्नु सिकाउँनुका साथै डोको,घुम,छपनी,महला जस्ता गाउँले जीवनमा प्रयोग गरिने सरसामानहरु बुन्ने तथा बनाउँने सीप समेत मैले वहाँबाट नै सिकेको हुँ ।
बैसाकको पहिलो हप्ता भित्र नै ढोल तयार पार्नु पथ्र्यो र ढोलेहरुको ढोल कस्को राम्रो बज्ने भन्ने खुबै चर्चा हुन्थ्यो। मेरो गाउँदेखि नजिकैको डाँडा गाउँले टिके भतिजको भन्दा राम्रो बज्ने बनाउँनु खोज्थेँ तर ठिकैको मात्र हुन्थ्यो। मेरो ढोल छरितो र ठीकै बज्ने हुँनाले सबैले मनपराउँथे ।
बैसाकेपूर्णे आउँनु अगाडि नै मूलधामीले शिली नाच्नु र ढोल झ्याम्टा बजाउनु फुकुवा गरिदिने चलन थियो र अझै पनि छ गाउँघरमा । साँझ परे पछि केटाकेटी बूढापाका सबैको थकान मेटाउने एउटा माध्यम हुन पुग्छ ढोल झ्याम्टा र शिली नृत्य । गाउँका केटाकेटीहरुले चुला पुज्ने अथवा साकेला पूजा भन्दा अगाडि नै धेरै शिलीहरु सजिलै नच्न सकोस भनेर पनि हुन सक्छ धामीले छुट गरिदिएको ।
घर धन्दा सकेर साँझ परेपछि पालो गरेर एक बेलुकी तल्लो घर अर्कोसाँझ माथिल्लो घर यसरी क्रमस नाच्ने चलन थियो र अहिले पनि त्यो चलन यथावतै होला। गाउँभरिका केटाकेटी बूढापाका भेला भएर सोइसोइला गीतगाउँदै नाच्ने गरिन्थ्यो। ढोल बजाउँदै सिली नाच्नेहरुको गोल भित्र छिरेर साथीहरुसँग सोइसोइला गाउँदै ढोले जुधाइ खेल खेल्थ्यौँ र त्यो मजा कहिले भूल्न नसकिने रहेछ ।
ढोले खेल्दै गायको गीतको बोल यस्तो थियोः
माथि माथि सैलुङ्गेमा
चौँरी गाईको गोठ स्यामुना
चौँरी गाईको गोठ मूनि
नरिवलको बोट स्यामुना
नरिवलको हाँगा लाछि
गुलेलीको मोठ स्यामुना
ढ्याडकु ढ्याडकु सोइदानेउ वासिम दुमा बैदानेउ... शिली नाच्नेहरुले चाहिँ स्याब्ब ढोले स्याब्ब सोइ ढोले सोइ अर्को ढोले खोइ ...भनेर ढोलेहरुलाई झन ढोल बजाउँदै गीत गाउँन प्रोत्साहन गर्थे ।
ढोल बजाउँने तरिका हुन्छ, शिली टिप्ने (नाचको हाउभाउ फेर्ने) बेलामा र केही शिलीमा ढोलको बोल (बजाउँने तरीका) नै फरक हुन्छ । मलाई थाहा भए अनुसार मोछामा शिली नाच्दा, वाप्पा शिली नाच्दा ढोल्को बजाउँने तरिका फरक तरिकाले बजाउँने गरिन्छ गाउँघरतिर । साकेला गीत गाउँदै म र मेरा समकालीन साथीहरुसँग ढोले खेल्ने गर्थेँ । ढोले जुधाई पनि एकप्रकारले साह्रै रमाइलो आकर्ष नृत्य हो । शिली नाच्नेहरुको गोलो घेरा भित्र र घेरा बाहिर हुँदै एकअर्का ढोलेसँग ढोल जुझाउँनु पर्ने भएकोले जोगिएर खेलनु पर्ने हुन्छ । ढोले जुधाई भन्नाले त्यो एक आकार्षा बढाउँनको लागि खेलीने रमाइलो ठट्टा हो । हामीले गाउँघरमा साकेला शिली नाच्दा गाइएको गीत यस्तो थियो ।
हलेसी थानको माहादेब
चारकुनै खोजेँ काहाँ थियौ
सोइसोइला होउ कुर्र हाहा......
पुर्र्णोको पाँच दिन पञ्चमी
नाचेर जाउँन है छमछमी
सोइसोइला होउ कुर्र हाहा .....
ढोल झ्याम्टा बज्यो गजैले
गायि देऊन गीत मजैले
सोइसोइला होउ कुर्र हाहा.......
उँधैलाई कोशी बहन्छ
जिउ मरे सम्झना रहन्छ
सोइसोइला होउ कुर्र हाहा......
रेटनकी धारले रेटौँला
नमरे बाँचे भेटौँला
सोइसोइला होउ कुर्र हाहा......
अहिले सम्झिँदा अचम्म लाग्छ, दिन भरिको कामले थाकेर भुतुक्क हुँदा पनि साँझमा फेरि फुर्ति कसरी आउँथ्यो कुन्नि । पसिना बगुञ्जेल शिली नाचेर बिसाउँने चलन थियो । नाचेर आराम गथ्र्यौ, जुन घरमा नाचेको हो त्यो घरवालाले जाँड/रक्सि के हुन्छ बिसाएको बेला दिने चलन थियो । खाएपछि फेरि एकचहट मज्जाले नाच्ने गरिन्थ्यो । शिली बिसाए भोलि कसको घरमा नाच्ने भन्ने टुङ्गो गरे पछि आ-आफ्नो घरघर गएर सुकला गरिन्थ्यो ।
यसरी चुलापूजा अथवा सकेला पूजासम्ममा त हामी सबैजना ढोल झ्याम्टा बजाउँनु,चौरीको पुछर(पोमी)र सिलिमी हल्लउँदै धेरैवटा शिली नाच्न जानीसकेको हुन्थ्यौँ । सबै नाच्न जान्नेहरुको समूहले शिली नाच्दाखेरि हेर्दा अतिनै आकर्ष देखिन्छ। र नाच्नेहरु पनि खुलेर नाच्न पाउँछन् कोहि अल्झाउने हुँदैन। रमीता हेर्नेहरुले पनि सबैले शिली टिपेको हेरि उनीहरुले आफ्नो मज्जा लिन्छन्। धेरै भयो मैले गाउँ छोडेदेखि खुलेर शिली नाच्नु र ढोल बजाएर ढोले खेल्नपाएको छुइन । मैले बिताएका ती पलहरु र यस संसारमबाट बिदा भईसक्नु भएको आदरणिय दाजु "राम" मेरो स्मृतिको पाना भरिभरि अझै आलै रहेको छु ।
अष्तु:
बिष्णुनन्द चाम्लिङ्ग
इन्द्रेणीपोखरी- ३ कात्तिके काभ्रेटार
खोटाङ्ग(दिक्तेल)सगरमाथा
किरात राज्य
नेपाल
तिहार आयो ढाकाटोपी संझी रोएँ चेली ।
रोटी अचार आलु कोपी संझी रोएँ चेली ।
बिहानीको लालीमामा तिम्रै रुप देखेँ,
हत्केलाले आँखा छोपी संझी रोएँ चेली ।
सयपत्री मखमली गोदावरी जुही,
शीलाभरी नाम खोपी संझी रोएँ चेली ।गलाभरि माला अनि सप्तरङ्गी टिका,
अतीतले छाती घोपी संझी रोएँ चेली ।परदेशी नै भएँ आज कर्मथलो खोज्दै,
अजम्बरी फूल रोपी संझी रोएँ चेली ।
रचना समय: २४ अक्टुबर २०११ , ०२:२० हङ्गकङ्ग वान्चाइ
यो गजल तिहार बिशेष रहेकोले गर्दा (युकेमा दिदी रञ्जना राई र बैनी शारदा राई, अष्ट्रेलियामा अध्यायनरत कान्छी बैनी परिस्ता राई र न्यूयोर्कमा बसोबास गर्दै आएकी बैनी मैयाँ राई) सहित संसार भरी छरिएर रहनु भएका नेपाली चेलीहरुमा यो गजल समर्पित गर्दछु । साथै स्वदेश तथा बिदेशमा रहनुहुँने दाजुभाइ तथा दिदी बहिनीहरुमा २०६८ सालको शुभदिपावलीको शुभकामना ।
०९)
संझनामा हरदम आयौ सपनीमा डाकेँ ।
भागीजान्छौ भनी तिमी परेलीले ढाकेँ ।
छाती भित्र राखेँ अनि दिएँ मुटु पनि,
सातै जुनि साथै काट्न देउराली भाकेँ ।
१०)
नदिनु थ्यो माया मैले नजानेर दिएँ ।
च्यात्यो छाती बैगुनीले बहपोख्दै सिएँ ।
झुट्टोमाया दिई स्वार्थलुट्ने रैछ बाँनी,
अतीतले सताउँदा आँशु झारी पिएँ ।
११)
देशको मुहार हेर्न यौटा ऐना खोज्दै छु म ।
खोली किनार हेर्न यौटा ऐना खोज्दै छु म ।
आफ्नै मुटुभित्र देशको नक्शा छ कि छैन,
दिलको दिवार हेर्न यौटा ऐना खोज्दै छु म ।
रचना समय:-१२ मे २०१०
संझनामा हरदम आयौ सपनीमा डाकेँ ।
भागीजान्छौ भनी तिमी परेलीले ढाकेँ ।
छाती भित्र राखेँ अनि दिएँ मुटु पनि,
सातै जुनि साथै काट्न देउराली भाकेँ ।
१०)
नदिनु थ्यो माया मैले नजानेर दिएँ ।
च्यात्यो छाती बैगुनीले बहपोख्दै सिएँ ।
झुट्टोमाया दिई स्वार्थलुट्ने रैछ बाँनी,
अतीतले सताउँदा आँशु झारी पिएँ ।
११)
देशको मुहार हेर्न यौटा ऐना खोज्दै छु म ।
खोली किनार हेर्न यौटा ऐना खोज्दै छु म ।
आफ्नै मुटुभित्र देशको नक्शा छ कि छैन,
दिलको दिवार हेर्न यौटा ऐना खोज्दै छु म ।
रचना समय:-१२ मे २०१०